फ्रान्सेली सेनाका पर्वतारोहीद्वारा नेपालमा पिक ४१ को उत्तरी मोहडामा नयाँ आरोहण मार्ग खुला
नवीनसञ्चार संवाददाता
काठमाडौँ, अक्टोबर ३०।फ्रान्सेली सेनाका तीन पर्वतारोहीले नेपालको ६ हजार ६५४ मिटर पिक ४१ को उत्तरी मोहडाबाट नयाँ आरोहण मार्ग सफलतापूर्वक खोलेका छन्।
फ्रान्सेली सेनाको माउन्टेन हाई माउन्टेन ग्रुप (जीएमएचएम) मा आबद्ध तीन सदस्यले सन् २०२६ अक्टोबर १४ मा उक्त नयाँ मार्गको आरोहण पूरा गरेका हुन्। फ्रान्सको शामोनीमा आधारित उक्त समूहमा सार्जेन्ट पियोन्तेक, कर्पोरल फुइयादे र कर्पोरल पोलिन सहभागी थिए।
उनीहरूले प्राविधिक रूपमा चुनौतीपूर्ण हिमाली क्षेत्रमा लगातार चार दिन आरोहण गर्दै एक हजार ४०० मिटर लामो नयाँ मार्ग निर्माण गरेका हुन्। उक्त मार्गको नाम फ्रान्सेली भाषामा ‘शुभ प्रभात’ अर्थ लाग्ने ‘बोन माताँ’ (Bon Matin) राखिएको छ।
पर्वतारोहीहरूले परम्परागत अल्पाइन शैलीमा आरोहण सम्पन्न गरेका थिए। यस शैलीमा आरोहण गर्दा उनीहरूले आवश्यक उपकरण र खाद्यान्न आफैँ बोकेका थिए। कुनै निश्चित आधार शिविर स्थापना नगरी र अतिरिक्त अक्सिजन प्रयोग नगरी आरोहण पूरा गरिएको फ्रान्सेली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
नेपाल र फ्रान्सबीच पर्वतारोहणको लामो ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुई लाशेनालले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए। इतिहासमा पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको उक्त उपलब्धिले विश्व पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेको थियो।
पिक ४१ मा नयाँ आरोहण मार्ग खोल्ने पछिल्लो सफलतालाई नेपाल र फ्रान्सबीचको यही ऐतिहासिक पर्वतारोहण परम्पराको निरन्तरताका रूपमा हेरिएको छ।
फ्रान्सेली सेनाको पर्वतीय सैन्य बलअन्तर्गत रहेको जीएमएचएम समूहले सैनिकहरूलाई अत्यन्त कठिन हिमाली तथा अल्पाइन परिस्थितिमा तालिम दिने र उनीहरूको क्षमता परीक्षण गर्ने काम गर्दै आएको छ।
फ्रान्सेली दूतावासका राजनीतिक तथा प्रेस सल्लाहकार दीपेश बिडारीले जारी गरेको विज्ञप्तिमा उक्त आरोहणबारे जानकारी दिइएको हो।