नवीनसञ्चार संवाददाता
काठमाडौँ, कात्तिक १४ गते। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै पुष्प व्यवसायको विकास र विस्तार गर्ने लक्ष्य राखिएको छ।
यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक, एउटा प्लान्ट क्लिनिक, चारवटा आधिकारिक, दुईवटा प्रतियोगितात्मक र एउटा फोटो सेल्फी स्टल रहेका छन्।
प्रदर्शनीमा नेपालमै उत्पादित विभिन्न जातका गोदावरी फूलसँगै यसै वर्ष भित्रिएका नयाँ प्रजातिसमेत समावेश गरी ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिएका छन्। अवलोकनकर्ताले प्रदर्शनीमा फूल तथा बिरुवाको अवलोकन गर्नुका साथै खरिदसमेत गर्न सक्नेछन्।
प्रदर्शनीलाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन सहभागी नर्सरी तथा फार्मबीच गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ। मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी, उत्कृष्ट स्टल तथा यस वर्षदेखि थप गरिएको उत्कृष्ट पुष्प सजावट विधाका विजेतालाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनी अवधिभर एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमानसमेत गरिएको छ।

