बिहिबार, कार्तिक १३, २०८३ | October 29, 2026

असोजमा झन्डै ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सुरु

असोजमा झन्डै ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सुरु

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक १३, २०८३

  • 10
    Views
असोजमा झन्डै ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सुरु

भारततर्फको निर्यात कारोबार ९६ करोडले बढ्यो, पहिलो तीन महिनामा १६ अर्बभन्दा बढीको विद्युत बिक्री

नवीनसञ्चार सम्वाददाता
काठमाडौं, १३ कात्तिक २०८३

नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत निर्यातबाट प्राप्त कारोबार रकम गत वर्षको असोज र चालु आवको भदौको तुलनामा बढेको हो।

नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्म तीन महिनामा भारततर्फ विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सुरु भएको छ।

प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको थियो। उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी भएको हो।

असोजमा भारततर्फ निर्यात गरिएको विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा बिक्री गरिएको थियो। बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।

गत वर्षको असोजमा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। चालु आवको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो।

यसअनुसार गत वर्षको असोजको तुलनामा चालु आवको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ। त्यस्तै, भदौको तुलनामा असोजमा ८३ करोड २५ लाख रुपैयाँ बढीको विद्युत निर्यात भएको छ।

नेपालले आन्तरिक माग पूरा गरेपछि वर्षायाममा बचत हुने विद्युत भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म हरियाणा र बिहार राज्यमा विद्युत बिक्री गरिन्छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा निर्यात कारोबार बढेको बताउनुभएको छ।

बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरु

नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएपछि विद्युत निर्यात रोकिएको थियो। बाढीले केही आयोजनाको उत्पादन प्रभावित हुँदा भारतको हरियाणा राज्यतर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।

भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रमा उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि आपूर्ति पुनः सुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति दिइएको छ।

बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा असर परे पनि अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको आपूर्ति पुनः सुरु हुनु नेपालको विद्युत व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि भएको श्रेष्ठले उल्लेख गर्नुभयो। यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुँदै आएको छ।

निर्यात क्षमता १ हजार १७९ मेगावाट पुग्यो

यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

आन्तरिक खपतपछि बचत हुने विद्युतको बजार विस्तार, निर्यात आम्दानी वृद्धि र छिमेकी मुलुकसँगको ऊर्जा व्यापार सुदृढीकरणका दृष्टिले बंगलादेशतर्फको निर्यात पुनः सञ्चालन तथा भारततर्फ निर्यात क्षमतामा भएको वृद्धि महत्त्वपूर्ण मानिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha