शुक्रबार, कार्तिक १४, २०८३ | October 30, 2026

न्यायपालिकाको साख जोगाउन निष्पक्ष छानबिन आवश्यक : नेपाल बार

न्यायपालिकाको साख जोगाउन निष्पक्ष छानबिन आवश्यक : नेपाल बार

  • Naveen Sanchar

  • शुक्रबार, कार्तिक १४, २०८३

  • 17
    Views
न्यायपालिकाको साख जोगाउन निष्पक्ष छानबिन आवश्यक : नेपाल बार

न्यायिक नेतृत्व र न्यायाधीशको आचरणमाथि उठेका प्रश्नलाई बेवास्ता नगर्न आग्रह, उच्च पदस्थबाट नैतिकता प्रदर्शन हुनुपर्नेमा जोड

नवीनसञ्चार संवाददाता

काठमाडौं। नेपाल बार एशोसिएशनले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र संस्थागत विश्वसनीयतामाथि उठेका प्रश्नहरूको निष्पक्ष, स्वतन्त्र तथा पारदर्शी छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटका विवरण विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि एशोसिएशनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। प्रधानन्यायाधीशसमेतलाई जोडेर समाचार प्रकाशित भएको विषयले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको बारको भनाइ छ।

नेपाल बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा न्यायपालिका संविधानको सर्वोच्चता, विधिको शासन, मौलिक हकको संरक्षण तथा नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्ने राज्यको महत्त्वपूर्ण र संवेदनशील अङ्ग भएको उल्लेख गरिएको छ।

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता र संस्थागत विश्वसनीयता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै बारले न्यायपालिकाप्रतिको जनआस्था कायम राख्नु न्यायिक नेतृत्व, न्यायाधीश, कानून व्यवसायी तथा समग्र राज्य संयन्त्रको साझा दायित्व भएको जनाएको छ।

सञ्चारमाध्यममा सार्वजनिक भएका आरोप तथा विवरणलाई नै अन्तिम सत्य मानेर कुनै व्यक्तिविरुद्ध दोष प्रमाणित भइसकेको निष्कर्षमा पुग्न नमिल्ने बारको धारणा छ। प्रत्येक व्यक्तिले निष्पक्ष छानबिन, आफ्नो धारणा प्रस्तुत गर्ने अवसर र प्रचलित कानूनबमोजिम न्यायिक प्रक्रियाको पूर्ण प्रत्याभूति पाउनुपर्नेमा पनि एशोसिएशनले जोड दिएको छ।

तर न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठिसकेपछि त्यसलाई सञ्चारमाध्यममा प्रकाशित समाचारका रूपमा मात्र सीमित राख्न उचित नहुने विज्ञप्तिमा उल्लेख छ।

यस्ता संवेदनशील विषयमा सत्यतथ्य पत्ता लगाउन निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन हुनुपर्ने भन्दै बारले सम्बन्धित पदीय व्यक्तित्वहरूले आ–आफ्नो आचारसंहिताको पालना गर्नुपर्ने जनाएको छ। उच्च पदस्थ पदाधिकारीबाट उच्च नैतिकता प्रदर्शन हुनु समयको आवश्यकता भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल बारले सार्वजनिक भएका विषयमा सक्षम निकायबाट स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ। कानूनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कानूनबमोजिम आवश्यक कारबाही गर्नुपर्ने उसको माग छ।

त्यस्तै, आरोप प्रमाणित नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुने गरी स्पष्टता प्रदान गर्न पनि एशोसिएशनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

आमसञ्चार माध्यम, राजनीतिक दल, कानून व्यवसायी तथा आम नागरिकलाई अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नुभन्दा प्रमाण, विधिको शासन र निष्पक्ष छानबिनको प्रक्रियालाई सम्मान गर्नसमेत नेपाल बार एशोसिएशनले अनुरोध गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha