मङ्लबार, कार्तिक ४, २०८३ | October 20, 2026

ओहायोमा महाकवि देवकोटाको ११७औँ जयन्ती तथा साहित्य परिषद् भुटानको दोस्रो मासिक कार्यक्रम हुने

ओहायोमा महाकवि देवकोटाको ११७औँ जयन्ती तथा साहित्य परिषद् भुटानको दोस्रो मासिक कार्यक्रम हुने

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ४, २०८३

  • 24
    Views
ओहायोमा महाकवि देवकोटाको ११७औँ जयन्ती तथा साहित्य परिषद् भुटानको दोस्रो मासिक कार्यक्रम हुने

 

बालबालिकाको प्रस्तुति, गायन, कविता वाचन र देवकोटाको साहित्यिक योगदानमाथि परिचर्चा गरिने

सहयात्री ढकाल

रेनोल्ड्सबर्ग, ओहायो (अमेरिका) । साहित्य परिषद् भुटानको आयोजनामा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जयन्ती तथा परिषद्को दोस्रो मासिक साहित्यिक कार्यक्रम आगामी अक्टोबर ३१, २०२६ मा अमेरिकाको ओहायो राज्यस्थित रेनोल्ड्सबर्गमा आयोजना हुने भएको छ।

प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र साहित्यको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको साहित्य परिषद् भुटानका बोर्ड सदस्य भीम अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार कार्यक्रममा नेपाली भाषा सिकिरहेका बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। परिषद्को भाषा शिक्षण सत्रमा सहभागी बालबालिकाको प्रस्तुति कार्यक्रमको विशेष आकर्षण रहनेछ। यसका साथै विभिन्न स्रष्टाले आफ्ना कविता वाचन गर्नुका साथै गायन प्रस्तुति दिने कार्यक्रमसमेत रहेको छ।

कार्यक्रममा महाकवि देवकोटाको साहित्यिक यात्रा, नेपाली वाङ्मयमा उनको अतुलनीय योगदान तथा उनका कालजयी कृतिहरूमाथि केन्द्रित रहेर विशेष चर्चा–परिचर्चा गरिनेछ।

नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका देवकोटाका रचनाले मानवीय संवेदना, प्रकृतिप्रेम, स्वतन्त्र चिन्तन र सामाजिक चेतनालाई सशक्त रूपमा अभिव्यक्त गरेका छन्। उनको जयन्तीका अवसरमा आयोजना हुने यस कार्यक्रमले नयाँ पुस्तालाई नेपाली साहित्यसँग जोड्न र प्रवासमा नेपाली भाषा तथा संस्कृतिको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अक्टोबर ३१ मा कार्यक्रम

आयोजकका अनुसार कार्यक्रम अक्टोबर ३१, २०२६ शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको स्थान १४३७६ ईस्ट ब्रोड स्ट्रिट, रेनोल्ड्सबर्ग, ओहायो ४३०६८ (14376 E Broad Street, Reynoldsburg, OH 43068) रहेको छ।

साहित्य परिषद् भुटानले ओहायो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषा, कला, संस्कृति र साहित्यप्रेमी सबैलाई कार्यक्रममा उपस्थित भई साहित्यिक समारोहको गरिमा बढाउन हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक समितिका सदस्यहरू गंगा लामीटारे, गोमा अधिकारी र भुवन प्याकुरेलसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रवासमा नेपाली साहित्यको प्रवर्द्धन र नयाँ पुस्तामा भाषिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले महाकवि देवकोटाप्रतिको सम्मान अभिव्यक्त गर्नुका साथै नेपाली साहित्यिक समुदायबीच आपसी सद्भाव र सिर्जनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha