नविनसञ्चार सम्वाददाता
काठमाडौँ, असोज ३० गते । इजरायलको व्यवस्थापिका संसद् (नेसेट) को निर्वाचनका लागि नेपालस्थित इजरायली दूतावासमा अक्टोबर १५ मा मतदान सम्पन्न भएको छ। नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससहित दूतावासमा कार्यरत कूटनीतिक तथा अन्य इजरायली कर्मचारीले मतदान गरेका छन्।
दूतावासमा मतदान प्रक्रिया पूरा भएपछि सिलबन्दी गरिएका मतपत्रका खाम मतगणनाका लागि हवाईमार्गबाट इजरायल पठाइने जनाइएको छ। इजरायलमा नयाँ संसद् चयनका लागि मुख्य निर्वाचन अक्टोबर २७, २०२६ मा हुने तय गरिएको छ।
मतदानका अवसरमा राजदूत श्मुलिक ए. बासले इजरायलको लोकतान्त्रिक प्रणालीको महत्त्व उल्लेख गर्दै निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको नियमित प्रक्रिया भएको बताउनुभयो।
“आजको दिन विशेष छ—इजरायलमा लोकतन्त्रको दिवस। कानुनअनुसार अघिल्लो संसद्को चारवर्षे कार्यकाल पूरा भएपछि नयाँ निर्वाचन हुन गइरहेको छ। यो लोकतान्त्रिक मुलुकमा हुनुपर्ने सामान्य र सही प्रक्रिया हो,” उहाँले भन्नुभयो।
उहाँले नयाँ संसद्का लागि मतदान गर्दै लोकतान्त्रिक देशको नागरिकका रूपमा आफ्नो मताधिकार प्रयोग गरेको पनि बताउनुभयो।
विदेशस्थित इजरायली कूटनीतिक नियोगमा कार्यरत नागरिकलाई मुख्य निर्वाचनअघि नै मतदान गर्ने व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार काठमाडौँस्थित इजरायली दूतावासमा पनि अग्रिम मतदान कार्यक्रम आयोजना गरिएको हो।
इजरायलको नयाँ संसद् चयनका लागि हुने निर्वाचनले देशको आगामी राजनीतिक दिशा र व्यवस्थापिकाको संरचना निर्धारण गर्नेछ।