क्षतिग्रस्त पुल पुनः सञ्चालनमा आएपछि चार जिल्लाका नागरिकलाई आवतजावतमा सहज
नविनसञ्चार सम्वाददाता
काठमाडौँ, असोज ३० गते । भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत सम्पन्न गरेसँगै प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको हो।
बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटा पुलमा सामान्य क्षति भएको थियो। बाढीबाट क्षतिग्रस्त सबै १८ वटा पुलको मर्मतपछि सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
पुलहरू पुनः सञ्चालनमा आएसँगै नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित जिल्लाका स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ। विशेषगरी दैनिक आवतजावत, स्थानीय सेवा तथा सुविधामा पहुँच र विभिन्न आर्थिक गतिविधिका लागि झोलुङ्गे पुलमा निर्भर नागरिकलाई राहत पुगेको छ।
बाढीका कारण अवरुद्ध भएको आवागमन पुनः सहज बनेपछि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउनसमेत सहयोग पुगेको छ। स्थानीय समुदायको आवागमनलाई सहज बनाउने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेका यी पुलको पुनः सञ्चालनले बाढीपछिको जनजीवनलाई नियमित बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।