शनिबार, कार्तिक १, २०८३ | October 17, 2026

बसन्तपुरको दसैँघरमा भित्रियो फूलपाती

बसन्तपुरको दसैँघरमा भित्रियो फूलपाती

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १, २०८३

  • 4
    Views
बसन्तपुरको दसैँघरमा भित्रियो फूलपाती

नवीनसञ्चार संवाददाता

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट पठाइएको फूलपाती काठमाडौँस्थित हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । गोरखाबाट आएको फूलपातीसहितको डोलीलाई नेपाली सेनाका डोलेहरुले बोकेर हनुमान ढोका परिसर ल्याइपुर्याएको हो ।
शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी फूलपातीसहितको डोली गोरखाबाट काठमाडौँ पठाइएको थियो । गोरखा दरबारका नायब सुब्बा हरि सारूका अनुसार दरबारका सुसारेहरूले फूलपातीसहितको डोली तयार पार्नु भएको थियो । तयार डोली सरकारी गाडीमार्फत यहाँ ल्याइएको हो ।
मध्यान्ह आइपुगेको फूलापतीको डोली सर्वप्रथम परिसरमा सर्वसाधारण र आसपासका देवी देवतालाई नजर गराइएको थियो । सो क्रममा बसन्तपुरको मुख्य दरबार अघि नेपाली सेनाको टुकडीले बन्दुक पड्काएर सलामी दियो । आम नागरिकले गोरखाबाट फूलपाती आएकोमा हर्षबडाईँ गर्दै स्वागत अभिनन्दन गर्नुभयो । बाजागाजासहित दरबार परिसर परिक्रमा गर्दै नेपाली सेनाले तयार पारेको दसैँघरमा उक्त फूलपातीसहितको डोली भित्र्याइएको हनुमानढोका व्यवस्थापन समितिले जनाएको छ । यस अघि बिहान फूलपाती बिदाइका क्रममा गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित ¥याली निकालिएको थियो । परम्परागत विधिअनुसार पूजाअर्चना गरी फूलपातीको डोली बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूल पुजारी राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।


यसरी भित्र्याइएको फूलपाती दशमीको बिहानसम्म पूजाअर्चनासहित राखिन्छ । त्यसपछि विजयदशमीका दिन दुर्गा भगवतीलाई चढाएपछि टिका ग्रहण गर्ने बेला जमरासँगै आम नागरिकलाई वितरण गर्ने चलन रहेको छ ।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पु¥याएपछि शनिबार साँझ हर्षबढाइँका साथ भित्र्याउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । गोरखा दरबारको दसैँघरमा पनि शनिबार साँझ हर्षबढाइँसहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ ।
ऐतिहासिक मान्यताअनुसार तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखा दरबारबाट हरेक वर्ष बडादसैँको सातौँ दिन फूलपातीसहितको डोली काठमाडौँ पठाउने परम्परा नेपाली रहेको छ । यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ । बडामहाराज पृथ्वीनारायण शाहले नेपाल एकिकरणपछि राजधानी काठमाडौँ सार्नु भएपछि मूल दरबार गोरखाबाट फूलपाती काठमाडौँमा भित्र्याउने चलन सुरु गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha