काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने क्षेत्रलाई ‘सडकआश्रित मानवमुक्त शहर’ घोषणा गरेको छ। महानगरले सडकमा आश्रित, असहाय र सहाराविहीन व्यक्तिहरूको उद्धार, व्यवस्थापन र पुनर्स्थापनाका लागि समन्वित प्रणाली अपनाउने जनाएको छ । सोमबार कार्यवाहक मेयर सुनिता डंगोलले “असहायको जिम्मेवारी काठमाडौं महानगरपालिकाको” भन्ने नारासहित उक्त घोषणा गरेकी हुन् ।
यस अभियानलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको छ। सम्झौताअनुसार सडकआश्रित व्यक्तिहरूको पहिचान, उद्धार, संरक्षण, उपचार, परामर्श र पुनर्स्थापनाका काम समन्वयात्मक रूपमा अघि बढाइनेछ।
महानगरले सडकमा बस्न बाध्य नागरिकलाई केवल हटाउने नभई उनीहरूको सम्मानजनक व्यवस्थापन र पुनर्स्थापनालाई प्राथमिकता दिने बताएको छ।