५ जेठ, काठमाडौं । गत जेठ ३ गतेबाट मलमाससंगै सुरु भएको काठमाडौं मच्छेगाउॅस्थित मच्छेनारायण मेलामा हरेक दिन भक्तजनहरुको घुईंचो बढ्ने क्रम जारी छ । उपत्यकाका भक्तजनहरु बिहान प्रभात भ्रमणमा पैदल हिंडेरै मन्दिर दर्शन गर्छन् भने टाढा उपत्यकाबाहिरबाट अनुकूल समयमा आउने भक्तजनहरु आउने क्रम पनि सुरु भएको छ । मच्छेगाउॅ पुग्ने सजिलो बाटो उत्तर, पश्चिम भेगका लागि सतुंगल, नैकापबाट जान सकिन्छ भने उपत्यकाको पूर्व, दक्षिणबाट आउने भक्तजनहरुका लागि मन्दिर पुग्ने सजिलो बाटो कीर्तिपुर भएर जाने हो । बसपार्कबाट सिधै मच्छेगाउॅको गाडी चढ्दा त सजिलै पुगिन्छ । तर नीजि, रिजर्भ वा बाईकबाट आउने भक्तजनहरु मन्दिरसम्म पुग्ने बाटो थाहा नभएर बीच बाटोमा अल्मलिएको देखिन्छ । कीर्तिपुरबाट सजिलै मच्छेगाउॅ मन्दिर पुग्ने बाटो भनेको कीर्तिपुर गेट पुगेपछि अगाडिको चोकबाट बायॉ नयॉबजार जाने र अलि अगाडी गएपछि पांगा जाने दोबाटो आउॅछ सिधै अगाडी गएपछि मूल बाटो छोडी नगाउॅ जाने बाटोबाट अघि बढेपछि नगाउॅ हुॅदै भत्क्यापाटी पुग्छ । मूल बाटो नछोडी अझै अगाडी बढ्ने सिधै साझा बसपार्क पुग्छ । अलि वर दायॉ बाटो मोडेपछि सिधै मच्छेगाउॅ मन्दिरमा पुग्दछ ।