सोमवार, माघ १३, २०८२ | January 26, 2026

साहित्यिक पत्रकार संघद्वारा श्रेष्ठका कृति लोकार्पण

साहित्यिक पत्रकार संघद्वारा श्रेष्ठका कृति लोकार्पण

  • Naveen Sanchar

  • आइतवार, माघ १२, २०८२

  • 52
    Views
साहित्यिक पत्रकार संघद्वारा श्रेष्ठका कृति लोकार्पण

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।

साहित्यिक पत्रकार संघले स्रष्टाका सृजना पाठकसमक्ष सार्वजनिक गर्ने क्रम जारी छ । संघद्वारा ;जुद्धबहादुर श्रेष्ठ: औद्योगिक क्षेत्रका अग्रणी’  र ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचना’ तथा नशा नशामा गीतको लोकार्पण गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित एक समारेहमा कृति र गीतको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ लगायतले लोकार्पण गर्नुभएको थियो । सो ग्रन्थ र गीतका लेखक नरेन्द्रबहादुर श्रेष्ठ हुनुहुन्छ । गीतमा स्वर र संगीत सङ्गीतकार नरहरि प्रेमीको रहेको छ ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न समारोहमा समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र प्रमोद प्रधानले ग्रन्थको
समीक्षा गर्नु भएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले लेखक श्रेष्ठको व्यक्तित्वबारे प्रकाश पार्दै शुभकामना दिनुभएको थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा.  श्रेष्ठले आफ्ना बुबा र काकालाई कृति मार्फत् चिनाउन सकेकोमा प्रशंसा गर्दै लोकार्पित दुई कृतिमा एउटा विशुद्ध साहित्यिक भएको र अर्को ऐतिहासिक अभिलेख भएको जानकारी दिनुभयो ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष लेकालीले ५४ वर्षदेखि नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताको उन्नयन र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संघको चर्चा गर्दै लोकार्पित कृतिका बारेमा चर्चा गर्नुभएको थियो ।कार्यक्रममा लेखक श्रेष्ठले आफ्ना बुबा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गर्दै बुबा नचिनेको बा का बारेमा लेखेको बताउँदै आमाको संस्कारले लेखक बन्न सकेकोमा गर्व लागेको बताउनु भयो ।कवि मुरारी सिग्देलले सञ्चालन गर्नु भएको समारोहमा उहाँ र श्रीमती निरू श्रेष्ठलाई अभिनन्दन समेत गरिएको थियो ।

 

कार्यक्रममा केही समयअघि मात्र दिवङ्गत हुनु भएका साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष, “उन्नयन” साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक लेखक अच्युतरमण अधिकारीको स्मृतिमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । लेखक श्रेष्ठका सुपुत्र निश्चल श्रेष्ठले परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha