मङ्लबार, भदौ २३, २०८३ | September 8, 2026

बाढीपीडितका लागि जुट्यो नेपाली मन, एनआरएनए साउदी अरबद्वारा सहयोगीहरूप्रति आभार

बाढीपीडितका लागि जुट्यो नेपाली मन, एनआरएनए साउदी अरबद्वारा सहयोगीहरूप्रति आभार

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २३, २०८३

  • 44
    Views
बाढीपीडितका लागि जुट्यो नेपाली मन, एनआरएनए साउदी अरबद्वारा सहयोगीहरूप्रति आभार

भोटेकोशी–त्रिशूली बाढीपीडित सहयोग अभियानमा आर्थिक तथा नैतिक साथ दिने सम्पूर्ण सहयोगी महानुभावप्रति उच्च सम्मान

साउदी अरब । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बाढीपीडितहरूको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् साउदी अरबको पहलमा सञ्चालन गरिएको सहयोग रकम संकलन अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।

विपत्तिको यस दुःखद् घडीमा व्यक्तिगत व्यस्तता, परिस्थिति र भौगोलिक दूरीलाई समेत पन्छाउँदै पीडितहरूको दुःखमा मलम लगाउने उद्देश्यले आर्थिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति एनआरएनए साउदी अरबले उच्च सम्मान व्यक्त गरेको हो।

एनआरएनए साउदी अरबका प्रवक्ता महेश घिमिरेले प्राप्त सहयोग रकम मात्र नभई बाढीपीडित नेपालीप्रतिको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र नेपाली–नेपालीबीचको एकताको सशक्त उदाहरण भएको बताएका छन्।

उनले संकटका बेला देखिएको यही सद्भाव र एकताले पीडित परिवारलाई पुनः आफ्नो जीवन सामान्य अवस्थामा फर्काउन ठूलो हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, विनाशकारी बाढीमा जीवन गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित परिवारहरूको सुरक्षित तथा सम्मानजनक पुनर्स्थापनाका लागि सम्बन्धित निकायबाट आवश्यक पहल हुनुपर्नेमा समेत जोड दिइएको छ।

अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने, आर्थिक तथा नैतिक सहयोग गर्ने र अभियानलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्ण सहयोगी महानुभावप्रति एनआरएनए साउदी अरबले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

“विपत्तिमा सहयोगी हात, दुःखमा सहारा र संकटमा एकता नै हाम्रो नेपाली पहिचान हो।”

मानवताको सेवामा एकताबद्ध बनौँ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha