मेहनत, दृढ संकल्प र नेतृत्वप्रतिको प्रतिबद्धताले हासिल गरे महत्वपूर्ण जिम्मेवारी
दमाम, साउदी अरेबिया । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपाली भूपाल भण्डारीले आफ्नो व्यावसायिक यात्रामा महत्वपूर्ण सफलता हासिल गर्दै Operations Director को जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका छन्।
निरन्तर मेहनत, दृढ संकल्प, व्यावसायिक दक्षता र नेतृत्वप्रतिको प्रतिबद्धताका कारण आफू यो जिम्मेवारीसम्म पुग्न सफल भएको भण्डारीले बताएका छन्।
आफ्नो सफलताबारे भण्डारीले भनेका छन्, “नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आउँदा एक दिन Professional Career को यो उचाइमा पुग्छु भन्ने कल्पना गरेको थिइनँ। तर निरन्तर मेहनत, hard work, दृढ संकल्प र strong leadership प्रति मेरो प्रतिबद्धताले आज Operations Director को जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको छ।”
उनले आफ्नो उपलब्धिलाई व्यक्तिगत सफलताका रूपमा मात्र नभई प्रवासी नेपालीका लागि पनि गर्वको विषय भएको बताएका छन्। “यो मेरो व्यक्तिगत उपलब्धि मात्र नभई, प्रवासी नेपालीका लागि पनि गर्वको एउटा सुखद क्षण हो,” उनले भनेका छन्।
नयाँ जिम्मेवारीसँगै थप चुनौती र उत्तरदायित्व आउने उल्लेख गर्दै भण्डारीले आगामी यात्रा सहज नहुने बताएका छन्। उनका अनुसार अब अझ ठूलो जिम्मेवारी, कठोर मेहनत, समर्पण र परिणामप्रतिको जवाफदेहिता आवश्यक हुनेछ।
“म यस नयाँ जिम्मेवारीलाई पदभन्दा पनि विश्वास, अवसर र ठूलो उत्तरदायित्वका रूपमा लिएको छु,” भण्डारीले भने।
आफ्नो व्यावसायिक यात्रामा साथ, हौसला, प्रेरणा र विश्वास प्रदान गर्ने परिवार, इष्टमित्र, गुरुजन, साथी–संगी तथा सहकर्मीहरूप्रति उनले आभार व्यक्त गरेका छन्।
भण्डारीको यो उपलब्धि साउदी अरेबियामा कार्यरत नेपाली समुदायका लागि प्रेरणादायी उदाहरणका रूपमा लिन सकिन्छ। नयाँ जिम्मेवारीसँगै उनले “नयाँ ऊर्जा, नयाँ लक्ष्य र अझ ठूलो प्रतिबद्धताका साथ अगाडि बढ्ने” बताएका छन्।