काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो।
एनआरएनएका पदाधिकारी, अभियन्ता तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत संकलित सहयोग रकममध्ये पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ।
राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहकार्य गर्छौं : मन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकार र एनआरएनएबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
विपद्को कठिन घडीमा एनआरएनएले प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष राहत वितरण गर्नुका साथै रु. ५ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा उहाँले सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।
मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा निकै ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताउनुभयो।
सरकारले एकद्वार प्रणाली लागू गरे पनि एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो। राहत वितरणअघि र पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ।
विदेशमा रहेका नेपालीसँग रहेको सीप, अनुभव तथा विशेषज्ञतालाई विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा उपयोग गर्न एनआरएनएसँग समन्वय गरिने मन्त्री खनालले बताउनुभयो।
राहतसँगै पुनर्निर्माणमा पनि सहकार्य गर्छौं : अध्यक्ष डा. शर्मा
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विनाशकारी बाढी तथा डुबानबाट भएको जनधनको क्षतिप्रति संघ गम्भीर र मर्माहत रहेको बताउनुभयो।
उहाँले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले एनआरएनएले रु. ५ करोड राहत तथा मानवीय सहयोग गर्ने घोषणा गरेको जानकारी दिनुभयो।
संघको टोली रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पुगेर जिल्ला विपद् व्यवस्थापन समितिलगायत सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्री वितरण तथा हस्तान्तरण गरिसकेको अध्यक्ष शर्माले बताउनुभयो।
उहाँका अनुसार पहिलो चरणमा प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा मानवीय सहायता उपलब्ध गराउनुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरिएको हो। आगामी दिनमा राहत अभियानमार्फत संकलित सहयोग रकम क्रमशः कोषमा हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो।
अध्यक्ष शर्माले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो।
पुनर्निर्माणका क्रममा नेपाल सरकारलाई आवश्यक पर्ने दक्ष तथा विशेषज्ञ जनशक्ति परिचालन गर्न एनआरएनए तयार रहेको उहाँको भनाइ छ। विदेशमा रहेका नेपालीको सीप, अनुभव र विशेषज्ञतालाई पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गर्न सरकारसँग समन्वय गरिने उहाँले बताउनुभयो।
‘विपद्को समयमा गैरआवासीय नेपाली नेपालसँगै छन्’
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विपद्को कठिन समयमा विदेशमा रहेका नेपालीहरू नेपालसँगै रहेको बताउनुभयो।
उहाँले राहत सामग्री, स्वास्थ्य शिविर, औषधि तथा चिकित्सकीय सेवा र पुनर्निर्माणका कार्यमा एनआरएनए प्रत्यक्ष रूपमा सहभागी हुन तयार रहेको उल्लेख गर्नुभयो।
गैरआवासीय नेपाली तथा विदेशी मित्रहरूबाट थप सहयोग जुटाउन सरकार र एनआरएनएबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउँदै उहाँले विदेशमा रहेका नेपालीलाई विश्वासिलो साझेदारका रूपमा परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो।
एनआरएनएका अन्य विषयमा पनि छलफल
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले एनआरएनएका अन्य चासोका विषयमा समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो।
अध्यागमन, सम्पत्ति खरिदलगायतका केही विषय एनआरएनएसम्बन्धी कानुन संशोधनमार्फत छिटो सम्बोधन गर्न कानुन मन्त्रालयमा प्रस्ताव पठाइसकिएको उहाँले बताउनुभयो।
विपद्को अवस्था सामान्य भएपछि एनआरएनएका अन्य विषयमा पुनः छलफल गरिने मन्त्री खनालले जानकारी दिनुभयो।
कार्यक्रममा एनआरएनएका प्रमुख संरक्षक डा. बद्री केसी, भीम उदासलगायत संघका पदाधिकारी तथा अभियन्ताहरूको उपस्थिति थियो।