माधव अधिकारी
काठमाडौँ । मारवाडी सेवा समिति नेपालको ७३ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । समितिका अध्यक्ष प्रमोदकुमार चौधरीको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि पूर्व अध्यक्ष राजेन्द्र कुमार खेतान रहनुभएको थियो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष चौधरीले समाजमा देखावटी परम्परा, पारिवारिक विखण्डन, गौधन व्यवस्थापन, गौधाम धार्के निर्माण तथा समिति अन्तर्गत सञ्चालन भइरहेका सेवा कार्यका सम्बन्धमा धारणा व्यक्त गर्दै सामाजिक एकताको आवश्यकता औँल्याउनुभयो ।
प्रमुख अतिथि समितिका पूर्व अध्यक्ष खेतानले समाजका सबै तह एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

साधारण सभामा समितिका महासचिव धर्मेन्द्र अग्रवालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

समारोहमा हुलाक टिकट संकलनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा स्वर्णपदक विजेता ऋषिकुमार तुलस्यान, वरिष्ठ तबला बादक राजु अग्रवाल(टिबडेवाल), नेपाल राष्ट्र बैंक आन्तरिक लेखापरीक्षण विभागका उपनिर्देशक ( अधिकृत द्वितीय) स्नेहा अग्रवाल, लोक सेवा आयोगद्वारा सञ्चालित नेपाल परराष्ट्र सेवाको शाखा अधिकृत पदको परीक्षामा मधेशी समूहबाट २३ वर्षको उमेरमा पहिलो नम्बरमा उत्तीर्ण हुने त्रिशा अग्रवाल, ८१६३ मिटर उचाइको मनास्लु हिमाल आरोही प्रिती अग्रवाल रत्तेरिया , ६११९ मिटर अग्लो लुबुच्छे हिमाल आरोही गौरव अग्रवाल र अदिति हिरावतलाई उहाँहरुको योगदानको कदरस्वरुप सम्मानित गरिएको थियो ।

त्यसैगरी ६९ विद्यार्थीलाई शैक्षिक उत्कृष्टता सम्मान र दीर्घसेवी कर्मचारी शिवराम चौँलागाईँलाई नगद प्रोत्साहन सहित कदर पत्र प्रदान गरिएको थियो ।उपाध्यक्ष पवन अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव धर्मेन्द्र अग्रवालले गर्नुभएको थियो ।



