शनिबार, साउन २, २०८३ | July 18, 2026

गजल

गजल

  • Naveen Sanchar

  • बुधबार, पुस ११, २०८०

  • 393
    Views
गजल

 

अदिती अर्याल ज्ञवाली
कुलेश्वर-१४, काठमाडौं

म दु:खहरू लेख्छु कथामा बसेर।
तिमी अभिनय गर्नु पर्दामा बसेर।

म ओठमा खुशी ल्याउन खोज्दैछु,
आँसुले विद्रोह गर्छ आँखामा बसेर।

तिमी भगवान हौ, शिरमा बस्नुपर्छ,
पछुतो हुन्न जुत्तालाई खुट्टामा बसेर।

मेरो घर मलाई कहिल्यै घर लागेन,
मन्दिर लाग्छ, सँगै बाआमा बसेर।

मझधारमा छ जिन्दगी के बताऊँ,
कोही पर्खिरहेछ किनारामा बसेर।

गुँड छोडेर माउ आहारको खोजीमा,
मुख बाउँछन् बचेरा हाँगामा बसेर।

नबोले नि बोलाउनु मेरो तस्बिरलाई,
हेरिरहनेछ तिमीलाई भित्तामा बसेर।

तिमी दिलमा बसेर किन खुशी छैनौ?
गुलाफ बरू खुशी छ काँडामा बसेर।

म मसी बनेर कलममा बसिदिन्छु,
तिमी अक्षर बन्नु पानामा बसेर।

घरि आभास दिन्छौ घरि पराइ बन्छौ,
रुख काटे जस्तै भयो टुप्पामा बसेर


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha