फोटो फिरिममा’, ‘उनको प्रीति’ र ‘पानी छम्किने’ लगायतका गीतमा झुमे करिब १,९०० दर्शक
रियाद, साउदी अरेबिया । झापाली समाज–साउदी अरेबियाको तेस्रो अधिवेशन तथा बृहत् सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालकी चर्चित गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो।
रियादमा आयोजित कार्यक्रममा रचना रिमालले ‘फोटो फिरिममा’, ‘उनको प्रीति’ र ‘पानी छम्किने’ लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा उपस्थित नेपाली दर्शकहरू उत्साहका साथ झुमेका थिए। उनका गीतमा दर्शकहरू नाच्दै, गाउँदै र रमाउँदै कार्यक्रमको माहोललाई थप रोमाञ्चक बनाएका थिए।
रिमालको प्रस्तुति सुरु भएसँगै कार्यक्रमस्थलमा उत्साह र उमंग थपिएको थियो। उनको ऊर्जावान प्रस्तुतिले साउदी अरबमा नेपाली संगीतको गुञ्जन फैलाउँदै प्रवासी नेपालीहरूलाई मनोरञ्जनसँगै नेपाल र नेपाली संस्कृतिसँग जोड्ने काम गरेको थियो।
करिब १,९०० दर्शकको सहभागिता
कार्यक्रममा करिब १,९०० नेपाली दर्शकको भव्य उपस्थिति रहेको थियो। दर्शकको ठूलो सहभागिताका कारण हल खचाखच भरिएको थियो।
साउदी अरेबियामा नेपाली समुदायले आयोजना गरेका सांस्कृतिक कार्यक्रममध्ये यति ठूलो जनसहभागिता देखिएको कार्यक्रममध्ये यो पनि एक उल्लेखनीय कार्यक्रम बनेको आयोजकको भनाइ छ।
झापाली समाज–साउदी अरेबियाको तेस्रो अधिवेशनसँगै आयोजना गरिएको बृहत् सांगीतिक कार्यक्रमले प्रवासी नेपालीबीच आपसी एकता, भाइचारा तथा नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रममा रचना रिमालको प्रस्तुति विशेष आकर्षणका रूपमा रह्यो। करिब १,९०० दर्शकको उत्साहपूर्ण सहभागिताले कार्यक्रमको भव्यता झल्काएको थियो भने नेपाली कला र संगीतप्रतिको प्रवासी नेपालीहरूको माया र उत्साहसमेत प्रस्ट देखिएको थियो।


Screenshot

नवीनसञ्चार डटकमका लागि — रियाद, साउदी अरेबिया।