
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । अन्तर्राष्ट्रिय समाजिक सुरक्षा संस्था (इसा)द्वारा गणतन्त्र कोरियाको सियोलमा आयोजित प्राविधिक सेमिनार २०२३ मा कर्मचारी सञ्चय कोषले सहभागिता जनाएको छ । अक्टोबर १० देखि १२ सम्म सञ्चालित सेमिनारमा कोषका तर्फबाट सहप्रशासक जीवन कुमार कट्वाल र का.मु. मुख्य प्रबन्धक सागर कुमार सिंहको सहभागिता रहेको थियो । विभिन्न देशका समाजिक सुरक्षा संस्थाका प्रतिनिधिले सेमिनारमा स्वास्थ्य बीमा प्रणाली, पहुँच र सेवाको गुणस्तर सुधार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्राविधिक सेमिनारमा एशिया र प्रशान्त क्षेत्रबाट इसा सदस्य संस्थाका प्रतिनिधि, मेडिकल केयर, स्वास्थ्य बीमा प्राविधिक आयोगका सदस्य लगायतको सहभागिता रहेको थियो । सबै जनसंख्यामा स्वास्थ्य पहुँच विस्तार गर्न नवीन समाधान र असल अभ्यास पहिचान गर्ने उद्देश्यले आयोजित सेमिनारमा नेपालको सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले ‘सबैका लागि पर्याप्त, प्रभावकारी र दिगो स्वास्थ्य पहुँच प्राप्ति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विश्वव्यापी स्वास्थ्य पहुँच महत्वपूर्ण रहेकोले सामाजिक र राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीले स्वास्थ्य सेवाको गुणस्तर बढाउन र नागरिकको समान पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने सेमिनारका वक्ताले जोड दिनुभएको थियो । राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीले धेरै देशमा स्वास्थ्य सेवामा व्यापक र समतामूलक पहुँच प्रदान गर्ने र तिनको कार्यान्वयनले विभिन्न चुनौती खडा गर्ने हुनाले द्रुत रूपमा परिवर्तन हुने सन्दर्भमा निरन्तर अनुकूलनको आवश्यकता सेमिनारमा औँल्याइएको थियो ।कर्मचारी सञ्चय कोष इसाको आबद्ध संस्थाका रुपमा रहेको छ ।
हेर्नुहोस् सेमिनारमा नेपालका तर्फबाट प्रस्तुत कार्यपत्र