
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । तीनकुनेस्थित बागिना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९।८० को लागि शेयरधनीलाई ११ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । यस आर्थिक वर्षमा थप पूँजी एवं निक्षेप परिचालन गरी कम्तीमा १० प्रतिशत लगानी वृद्धि गर्ने लक्ष्य बागिनाले लिएको छ । संस्थाको गत आर्थिक वर्षको आषाढ मसान्तसम्म पूँजी रकम ९९ लाख ६७ हजार रुपैयाँ र निक्षेप ६ करोड ६४ लाख ३ हजार रुपैयाँ पुगेको छ । संस्थाले ७ करोड ९१ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बानेश्वर बहुमुखी क्याम्पसको सभाकक्षमा आइतबार आयोजित संस्थाको १५ औँ वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कृष्ण हमालले उक्त जानकारी दिनुभएको होे । राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले सृजित आर्थिक मन्दी र समग्र सहकारी क्षेत्रमा देखिएको समस्याका बावजुद आगामी दिनमा संस्थाका नीति र रणनीति समयसापेक्ष बनाउँदै चुनौतिको सामना गर्ने प्रतिबद्धता अध्यक्ष हमालले सो अवसरमा व्यक्त गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै बानेश्वर बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. घमानसिंह खड्काले मुलुकभर छरिएर रहेका ३५ हजार सहकारी संस्थाको अनुगमन राज्यले बलियो बनाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सहकारीको व्यवस्थापन तथा कर्जा लगानी प्रणाली सशक्त र पारदर्शी बनाउँदै समयमा कर्जा असुली तथा वचत सुरक्षित गर्नुपर्ने क्याम्पस प्रमुख प्रा.डा. खड्काको भनाइ थियो । उहाँले बागिना सहकारी प्राज्ञिक संस्थाद्वारा प्रवद्र्धित भएकोले विश्वसनीय रहेको उल्लेख गर्दै प्रतिकूल परिस्थितिमा समेत संस्थाले प्राप्त गरेका उपलब्धिको सराहना गर्नुभयो ।
साधारणसभामा लेखा समिति सदस्य झविन्द्र पोखरेलले संस्थाको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।समारोहमा प्रा. डा. विष्णु सापकोटा, प्रा.डा. कृष्णदेव यादव, कतारका लागि पूर्व नेपाली राजदूत रमेश प्रसाद कोइराला, राजकुमार भण्डारी लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको थियो । संस्थाका उपाध्यक्ष अपार न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको समारोहमा कोषाध्यक्ष अर्जुन प्रसाद आचार्य, सदस्य मन्दिरा न्यौपाने ,बुद्ध बहादुर बस्नेत, प्रमुख कार्यकारी अधिकृत चिरञ्जिवी तिमल्सिना, लेखा सुपरीवेक्षण समिति संयोजक प्रकाश कुमार खत्री,सदस्य भरतराज बराल, लगायतका पदाधिकारी, शेयरनी, वचतकर्ता, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव दीपकबाबु निरौलाले गर्नुभएको थियो ।समारोहको अन्त्यमा आयोजित सांगितिक कार्यक्रममा सुरेश चन्द्र न्यौपाने , कुबेर ढुङ्गाना, कल्याण दाहाल, सुनिता बज्राचार्य लगायत सम्पूर्ण शेयरधनी सदस्यले रमाइला गीतमा रोमाञ्चक नृत्य गर्नुभएको थियो ।