
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । अष्ट्रेलियाली संघीय संसदको तल्लो सदन प्रतिनीधि सभाका सभामुख डीक मिल्टनको नेतृत्वमा एक संसदीय प्रतिनीधिमण्डलले असोज १६ देखि २० सम्म नेपालको भ्रमण शुरु गरेको छ ।
अष्ट्रेलिया र नेपालबीच रहिआएको दौत्य सम्बन्धको छ दशकमा अष्ट्रेलियाली संसदीय टोलीको यो पहिलो नेपाल भ्रमण हो । यस भ्रमणले हाम्रा दुई देशहरुबिचको सम्बन्ध सुदृढ हुँदै गएको देखाउँछ ।
भ्रमण टोलीमा प्रतिनिधि सभाका सांसद लिब्वी कोकर र जोआन रियान र अष्ट्रेलियाली संसदको माथिल्लो सदन सिनेटका सदस्य सिनेटर डीन स्मिथ र राल्फ वाबेट सहभागी हुनुहुन्छ ।
भ्रमण टोलीले नेपालको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सीनालाई भेटेर अष्ट्रेलिया र नेपालका संसदहबीच थप सहकार्य गर्ने विषयमा छलफल गर्नेछ ।
भ्रमण टोलीले सभामुख घिमिरेले आयोजना गर्नुहुने दिवाभोजमा सहभागी भई भर्खरै स्थापित नेपाल अष्ट्रेलिया संसदीय मित्रता समूहका सदस्य सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
यस भ्रमणले अष्ट्रेलिया र नेपालबीचको सम्बन्धलाई थप सबल बनाउने र संसदीय सम्पर्कलाई थप मजबुत बनाउने नेपालस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । भ्रमणका अवसरमा दुई देशका प्रतिनिधिले संसदीय प्रजातान्त्रिक अभ्यास, संघीय ब्यवस्थाको सञ्चालन र तीनै तहका सरकारमा सुशासन प्रवर्धन गर्ने विषयमा अनुभव आदान प्रदान गर्नेछन् । शिक्षा, विकास सहयोग, वाणिज्य र लगानी जस्ता क्षेत्रमा अष्ट्रेलिया र नेपालबीच रहेको जनता र सरकारस्तरीय सम्बन्धलाई यो भ्रमणले अझ मजबुत बनाउनेछ ।
भ्रमण टोलीले अष्ट्रेलियाको सहयोगमा सञ्चालित स्थानीय शासन सबलीकरण कार्यक्रम, जलवायु परिवर्तनले ल्याएका चुनौती र यसको प्रतिकार्यका काम, साना किसानलाई प्रदान गरिएको सहयोग र अटीजम लगाएतका स्नायूविकार सम्बन्धी चुनौती झेलीरहेका ब्यक्तिलाई प्रदान गरिने सेवाका बारेमा समेत जानकारी लिने राजदूतवासले जनाएको छ ।