काठमाडौँ, १८ वैशाख
जरा फाउन्डेसन नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिका २९ को सहकार्यमा तेस्रो अन्तराष्ट्रिय जेन–साहित्य सङ्गोष्ठी सम्पन्न भएको छ । जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईंको अध्यक्षतामा शुक्रबार काठामाडौँको भृकुटीमण्डपस्थिति नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित उक्त सङ्गोष्ठीमा कवि, साहित्यकार तथा संस्कृतिविद् भारतको साहित्य अकादमी पुरस्कारका विजेता तथा सिक्किमका माननीय मुख्यमन्त्री पीएस गोलेका प्रेस सल्लाहकार सीपी भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै गरी अनिला लुण्डुप तेन्जिन विशेष अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा जर्मनी, थाइलैण्ड, बर्मा भूटान, बेलायत, भारत, दुवई, क्यानडा र नेपालका कविहरूको उपस्थिति रहेको थियो र आगन्तुक कविहरूले कविता वाचन गर्नुभएको थियो । जरा फाउन्डेसन नेपालले २९ माघ २०८२ सम्म जेन कविता आह्वान गरेको थियो । देश विदेशबाट १४९ कविता प्राप्त भएकामा पन्ध्र उत्कृष्ट कविता छनोट भएका थिए । छनोटमा परेका पन्ध्र कविहरूमा इन्दु भट्टराई, किशन पौडेल, गोविन्द प्रतीक, गोविन्द सुवेदी, दिलिप श्रेष्ठ, पीआर भट्टराई, मोहित जोशी, राजु उबरकोटी, सन्ध्या महर्जन, सुरज पराजुली गोमा श्रेष्ठ, सन्ध्या महर्जन, दोस्ती रेग्मी, पुष्पा खनाल, सत्यजीत थिए । उत्कृष्ट १५ मध्ये सुरज पराजुली प्रथम, गोमा श्रेष्ठ द्वितीय र मोहित जोशी तृतीय हुनुभयो । प्रथम, द्वितीय र तृतीय पुरस्कारका विजेतालाई क्रमशः पच्चीस हजार, बीस हजार र पन्ध्र हजार राशिसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । तीन सदस्यीय निर्णायक मण्डलमा कवि निवन्धकार मोमिला जोशी, समालोचक तथा निबन्धकार, प्राध्यापक कुमारी लामा र जेन विशेषज्ञ डा. इन्द्रमान जोशी हुनुहुन्थ्यो ।

अतिथि कविहरूमा पुष्पा शर्मा सिक्किम, किम जे बाडेन (जर्मनी), दिव्या मौर्य (थाइलेन्ड), रुनी अधिकारी (बर्मा), कैलाश नेपाल (बेलायत), तुम्बेहाङ लिम्बू (भूटान), असीम सागर, प्रज्वल अधिकारीले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको औचित्यमाथि महेश पौड्यालले प्रस्ट पार्नु भएको थियो ।
सभालाई सम्बोधित गर्दै प्रमुख अतिथि शर्माले भन्नुभयो— अबको समय युवा पुस्ताका सर्जकहरूलाई समेटेरे उनीहरूलाई कला–
साहित्यको संवाहकको रूपमा दीक्षित गर्दै लानुको विकल्प नहरेको बताउनुभयो । उहाँले आफू संलग्न रहेको सिक्किम सरकार तथा परी प्रकाशनले युवाकेन्द्रित कार्यक्रम र प्रोस्ताहनका पहल जारी राखेको उल्लेख गर्नुभयो । विशेष अतिथि अनिलाले लुण्डुप तेन्जिनले जेन र महायाना दर्शनबीच धेरै समानता रहेको भए पनि जेनले अनुभूतिजन्य र तात्कालीनक ज्ञानलाई बुद्धत्वको आधार बनाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जेनले बौद्ध, ताओ र कन्फुसियका विचारहरूलाई पनि समेट्छ, र शास्त्रीयता भन्दा पनि तात्कालीक अनुभूतिलाई ज्ञानको आधार मान्छ ।’
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जेन विशेषज्ञ डा. इन्द्रमान सुब्बाले जेन दर्शन र सिर्जनका आधारभूत मान्यतालाई समेटेर एउटा श्रव्यदृश्य प्रस्तुति राख्नुभयो । उहाँको निचोड थियो— जेनले लामो व्याख्या, विश्लेषण वा तर्कलाई मान्दैन । यो अनुभूतिमा आधारिक ज्ञानको प्रकटीकरणको सिद्धान्त हो । सभाध्यक्ष कृष्ण प्रसाईले पनि आफूले जानेको जेनको प्रक्रिया डा. सुब्बाले भनेजस्तो अन्तज्र्ञानमै केन्द्रित भएको बताउनुभयो । आफू देशविदेशका जेन मास्टरहरूको सङ्गतबाट जेनप्रति आकर्षित भएको जिकिर गर्नुभयो ।
कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण प्रज्वल अधिकारी र सिर्जना शर्माले गरेका थिए ।