हाल कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित तुंझोल टोलको जिफागल क्षेत्रमा श्री शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्र नामक संस्था आफ्नै भवनमा संचालनरत रहेको छ । संस्थाले स्थानीय समदायका महिला दिदी–बहिनीहरुको सक्रियतामा स्थानीय ज्येष्ठ नागरिकहरुलाई हरेक दिन दिउ‘सो भेला गरि विभिन्न गतिविधि संचालन गरि भजन कीर्तन, प्रवचन, योगा, कथा श्रवण, धार्मिक भ्रमण र स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ । बिहान ११ बजेदेखि दिउ‘सो ३ बजेसम्म खुल्ने केन्द्रमा उपस्थित हुने करिब ५० देखि ७० जनासम्मको संख्याका ज्येष्ठ नागरिकहरुलाई खाजा खुवाई विदा गरिन्छ । केन्द्र खुल्ने दिन बिहान १० बजेदेखिनै भवन परिसरमा चहलपहल सुरु हुन्छ । आफै आउने सक्ने आमा–बुबाहरु विभिन्न टोलहरुबाट आउ‘छन् भने नसक्ने आमा–बुबाहरुलाई छोरा, बुहारीले केन्द्रसम्म ल्याउने र लाने पनि गर्दछन् ।
स्थापना पृष्ठभूमिः
बढ्दो सहरिकरण र मानिसहरुको ब्यस्ततासंगै बद्लिंदो नेपाली समाजमा जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकहरुको दैनिकी परिवारजनको ब्यस्तताका कारण एकान्त र निरसपूर्ण बन्दै गएको देखिन्छ । शारिरीकरुपमा दुर्बल र असशक्त बन्दै गएपछि आरामको जीवन जिउन पाउनुपर्ने परिवार एवं समाजका अभिभावक ज्येष्ठ नागरिकहरुको जीवन आजभोली उपेक्षितजस्तो वा विरक्तलाग्दो अवस्थामा ब्यतीत गर्नपर्ने तीतो यथार्थ र परिवारले उनीहरुलाई आवश्यकमात्रामा समय दिन नसक्दा उनीहरुको मानसिक स्वास्थ्यमा त्यसको प्रत्यक्ष नकारात्मक असर पर्ने गरेको सत्य, तथ्यलाई मनन् गरि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको अवधारणा विकास भएको हो ।

ज्येष्ठ नागरिक समाजका गहना हुन् भन्ने सत्य, तथ्यलाई आत्मसात् गर्दै परिवर्तित समाजको आवश्यकतालाई समुदाय र निकाय दुबैले महसुस गरि स्थानीय समाजका ज्येष्ठ नागरिकहरुको जीवनयापन सहज र सुखद् बनाउने एकमात्र पवित्र उद्देश्यले दैनिकरुपमा दिवा सेवा कार्य संचालन गर्न कीर्तिपुर नगरपालिका १० वडा कार्यालयको रु. १ लाख बजेट सहयोगले दैनिक प्रयोगका सामान खरीद गरि स्थानीय शंखधर स्मृति पार्क क्षेत्रमा रहेको दबुचा विचाः संघको भवनलाई प्रयोग गर्नेगरि वि. सं. २०७५ साल असार १६ गते तत्कालिन जनप्रतिनिधि तथा स्थानीय समुदायका महिला दिदी–बहिनी तथा समाजसेवीहरुको सक्रियताले राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट श्री शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना तथा उद्घाटन सम्पन्न भयो । असार २१ गतेदेखि हप्ताको शनिवारबाहेक ६ दिन हरेक दिन विभिन्न गतिविधि तथा कार्यक्रम गरि केन्द्र संचालन सुरु गरियो । केन्द्रलाई अनवरत र दीर्घकालसम्म ब्यवस्थितरुपमा संचालन गर्न स्थानीय समाजसेवी महिला श्री नानीमैंया रञ्जितकारज्यूको अध्यक्षतामा संस्थाको कार्यसमिति पनि गठन गरियो । सुरुवाती दिनहरुमा करिब ८० जना बृद्ध–बृद्धाहरुको दैनिक उपस्थिति रहने गरेकोमा त्यसलाई निरन्तरता दिन नियमित आर्थिक स्रोतनै मुख्य चुनौति थियो । सबैको अथक मिहेनत र सत्प्रयासले वर्षदिन संचालनपछि देशमा कोभिड (कोरोना १९) संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि भेला कार्यक्रम निषेध गरिएका कारण केहि समय केन्द्रको सेवा बन्द र अवरुद्ध हुन पुग्यो । परिस्थिति सहज बन्दै गएपछि केन्द्रले आफ्नो सेवा तथा कार्यक्रमलाई दैनिक नभएपनि हप्ताको दुई दिन संचालन एवं निरन्तरता दिईयो ।
हरेक दिन ५० भन्दामाथिको संख्यामा भेला हुने ज्येष्ठ नागरिकहरुका लागि चिया, खाजा खुवाउन नियमित आर्थिक स्रोतको समस्या थियो भने अस्थायीरुपमा गुठीको भवनमा संचालन गरिएको केन्द्रलाई चिरस्थायी बनाउन आफ्नै भवनको खॉचो अर्को ठूलो समस्या थियो । तर जहॉ ईच्छा त्यहॉ उपाय भनेझैं सबैको सहकार्य र सत्प्रयासले केन्द्रको आफ्नै भवन बनाउनका लागि केन्द्रका शुभेच्छुक एवं सदस्य महिला जयन्ति वज्राचार्य र स्थानीय समाजसेवी युवा केशरत्न वज्राचार्यमार्फत् ख्यातिप्राप्त बौद्ध अनुयायी एवं गायिका आनी छोइङ डोल्मा फाउण्डेसनबाट निर्माण लागतको ६० प्रतिशत सहयोग प्राप्त भयो र थप लागत कीर्तिपुर नगरपालिका, १० वडा कार्यालय र समुदायको तर्फबाट ४० प्रतिशत आर्थिक स्रोत जुटाई त्रिरत्न छे‘ निर्माण गर्ने सम्झौता भई निर्मित भवनमा हाल केन्द्र संचालनरत रहेको छ भने वि. सं. २०८२ बैशाख १३ गते तत्कालिन प्रथम महिला श्री राधिका शाक्यज्यूबाट विधिवत्रुपमा उद्घाटन गरि शुभारम्भ गरियो । दैनिक चिया तथा खाजाका लागि विभिन्न संघ, संस्था र दाताहरुबाट नियमित र आकस्मिक सहयोगहरु जुट्दै, जुटाउ‘दै केन्द्र संचालन हु‘दै आएको छ । केन्द्र संचालन आज ७ वर्ष पुराई भई ८ औं वर्षमा चलिरहन सक्नुमा अर्को महत्वपूर्ण भूमिका र योगदान भनेका स्थानीय वडावासि महिला दिदी–बहिनीहरुको नियमित सक्रियता र निःस्वार्थ सेवाभाव पनि हो । संस्थाबाट के पाए‘ भन्दा पनि संस्थालाई के दिए‘ भन्ने पवित्र सेवाभावले केन्द्रको काममा कार्यसमितिका पदाधिकारीहरु स्वयंसेवीरुपमा निरन्तर वा पालैपालो खट्दै आएका छन् । पछिल्लो समय केन्द्र स्थानीय सरकारको रुपमा रहेको कीर्तिपुर नगरपालिका कार्यालयमा विधि, विधानसहित १५ जनाको कार्यसमिति दर्ता भएपछि संस्थाको भविष्य थप सवल, सुदृढ र सुनिश्चित बनेको छ ।
अन्त्यमा, संस्थाले कीर्तिपुर नगरपालिका, १० वडा कार्यालय र समाजका गन्यमान्य समाजसेवीहरुबाट निरन्तर साथ र सहयोग प्राप्त गदै आएको छ । पूर्व तथा वर्तमान जनप्रतिनिधिज्यूहरुको साथ र सहयोगमा केन्द्रले गत ०८२ मंसिर ३ गते नगर प्रमुख श्री कृष्णमान डंगोलज्यू तथा उप–प्रमुख श्री शुभलक्ष्मी शाक्यज्यूको समुपस्थितिमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस समारोह कार्यक्रम भब्यतापूर्वक मनाउने महत्वपूर्ण सामाजिक अभिभारासमेत निर्वाह गरिसकेको तथ्य स्मरणीय छ ।
सम्पर्कः श्री नानीमैंया रञ्जितकार, अध्यक्ष, केन्द्र संचालन तथा ब्यवस्थापन समिति (९८४१२२६१७८ )
लेखकः विरेन्द्र शाक्य ‘विविशा’