मङ्लबार, बैशाख १५, २०८३ | April 28, 2026

प्रवासी नेपालीसँग श्रम मन्त्री रामजी यादवको ऐतिहासिक भर्चुअल अन्तरक्रिया सम्पन्न

प्रवासी नेपालीसँग श्रम मन्त्री रामजी यादवको ऐतिहासिक भर्चुअल अन्तरक्रिया सम्पन्न

  • Naveen Sanchar

  • मङ्लबार, बैशाख १५, २०८३

  • 27
    Views
प्रवासी नेपालीसँग श्रम मन्त्री रामजी यादवको ऐतिहासिक भर्चुअल अन्तरक्रिया सम्पन्न

साउदी अरब ।
प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबको आयोजनामा विश्वका विभिन्न देशमा रहेका विभाग प्रमुख तथा प्रवासी नेपालीहरूको सहभागितामा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूसँग करिब तीन घण्टा लामो भर्चुअल अन्तरक्रिया कार्यक्रम २०२६ अप्रिल २६ (१३ वैशाख २०८३) का दिन भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम केवल औपचारिक अन्तरक्रिया मात्र नभई, नयाँ सरकार गठनपछिको सन्दर्भमा विश्वभर रहेका प्रवासी नेपालीहरूले आफू बसेका देशका वास्तविक समस्या, चुनौती तथा समाधानका सुझाव प्रत्यक्ष रूपमा सम्बन्धित मन्त्रीसमक्ष राख्ने ऐतिहासिक तथा उपलब्धिमूलक अवसरका रूपमा सम्पन्न भएको हो।

कार्यक्रम प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबका प्रमुख श्री भुपाल भण्डारीज्यूले सञ्चालन गर्नुभएको थियो। माननीय मन्त्रीज्यूको समय व्यवस्थापन तथा सहभागिताका लागि साउदी अरबमा कार्यरत इन्जिनियरद्वय श्री विकास झा र श्री भवेश झाज्यूले समन्वयकारी महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

नेपाली समयअनुसार राति ९ बजे सुरु भएको कार्यक्रममा विश्वका २५ भन्दा बढी देशका प्रतिनिधिसहित ६० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रम राति ११:४५ बजे समापन गरिएको थियो। विशेष रूपमा उल्लेखनीय पक्ष के रह्यो भने, माननीय मन्त्रीज्यूले कार्यक्रम अवधिभर सहभागीहरूले उठाएका सबै समस्या धैर्यपूर्वक सुन्नुका साथै टिपोट गर्दै समाधानका सम्भावनाबारे स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। फरक–फरक समय क्षेत्रका कारण केही देशका प्रतिनिधिहरू राति १ बजेसम्म पनि कार्यक्रममा जोडिएर सक्रिय सहभागिता जनाउनु कार्यक्रमप्रतिको गम्भीरता र विश्वासको संकेतका रूपमा लिइएको छ।

पूर्व जानकारी गराएका २१ देशका प्रतिनिधिहरू तथा अन्य ३ सहभागीहरूले आ–आफ्ना देशका समस्या तथा सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा उठाइएका प्रमुख साझा समस्याहरूमा नेपालदेखि नै बिचौलिया तथा म्यानपावर व्यवसायीबाट हुने ठगी, करारअनुसार तलब तथा सुविधा नपाउने अवस्था, मध्यपूर्वमा न्यूनतम तलब पुनर्विचारको आवश्यकता, जी–टु–जी (G2G) प्रणालीमार्फत मात्र श्रमिक पठाउनुपर्ने माग, प्रवासी नेपालीका लागि नेपालमा लगानीमैत्री वातावरणको अभाव, नेपाली ध्वजाबाहक तथा हिमालयन एयरलाइन्सको सेवा सम्बन्धी असन्तोष, विमानस्थलमा हुने दुर्व्यवहार, विदेशबाट फर्किँदा गहनामा भन्सार समस्या, गन्तव्य मुलुकमा दलालद्वारा ठगी, हुण्डी कारोबार, राहदानी नवीकरणमा जटिलता, राजदूतावास तथा महावाणिज्यदूतावासमा कर्मचारी अभाव, कूटनीतिक नियोगको कमी, नेपाली कानुनविदको अभावका कारण श्रमिक मुद्दामा समस्या, साथै केही देशमा एनआरएनए (NRNA) का पदाधिकारीबाट हुने दुरुपयोग लगायतका विषयहरू प्रमुख रूपमा उठाइएका थिए।

उक्त समस्याहरू सुनेपछि माननीय मन्त्रीज्यूले समाधानका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुका साथै आगामी साता महामहिम राजदूतहरूसँग थप उपलब्धिमूलक अन्तरक्रिया गरिने बताउनुभयो। साथै सेवा प्रवाहलाई डिजिटल माध्यमबाट पारदर्शी तथा बिचौलियारहित बनाउने, कर्मचारीहरूले अनिवार्य रूपमा परिचयपत्र लगाउने व्यवस्था लागू गर्ने लगायतका महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयहरूमा पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमको आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै मन्त्रीज्यूले यस्ता अन्तरक्रियाले मन्त्रालय मातहतका सेवामा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो। सहभागीहरूले पनि कार्यक्रम प्रवासी नेपालीहरूको समस्या समाधानतर्फ उपलब्धिमूलक भएको प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

समग्रमा, उक्त कार्यक्रम ऐतिहासिक, उपलब्धिमूलक तथा प्रवासी नेपालीहरूको समस्या समाधानतर्फ आशा जगाउने महत्वपूर्ण पहलका रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha