१८ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकामा समुदायमा आधारित विपद् ब्यवस्थापन तालिम सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकासंगको सहकार्य र वल्र्ड भिजनको सहयोगमा असल छिमेकी नेपालको आयोजनामा बैशाख १५ देखि १८ गतेसम्म स्थानीय कीर्तिपुर हिलसाईड होटल एण्ड रिसोर्टमा सम्पन्न तीनदिने तालिममा वडा १ देखि १० सम्मका वडास्तरीय विपद् ब्यवस्थापन समितिका सदस्य, वडा सदस्य तथा विद्यालय र स्वास्थ्य केन्द्रका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको जनाएको छ ।

कर्णबहादुर नेपाली सहजकर्ता रहनुभएको तालिममा कीर्तिपुर नगर क्षेत्रका सम्भावित प्रकोप पहिचाल गरि स्थानीय तहले विपद् ब्यवस्थापनमा गर्नुपर्ने तयारी र प्रक्रियाका बारेमा सहभागीहरुलाई जानकारी दिईएको तालिममा सहभागी ३ वडा विपद् ब्यवस्थापन समिति सदस्य अनिलकुमार श्रेष्ठले बताउनुभयो । साथै तालिमको अन्तिम दिन सहभागीहरुले आ–आफ्नो वडाको विपद् पहिचान नक्सांकन गरि न्यूनिकरण र ब्यवस्थापनको कार्ययोजनासमेत तयार गरेको बताईएको छ ।
नगरका प्रवक्ता एवं ७ वडाअध्यक्ष दिवाकर अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा कीर्तिपुर नगरपालिका, वन, विपद् तथा वातावरण शाखा प्रमुख ज्ञानवज्र महर्जन, कविर महर्जन, असल छिमेकी नेपालका कार्यक्रम निर्देशक हिरालाल ताम्राकारलगायतले तालिम सफलताको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो भने तालिमको संयोजन तथा कार्यक्रम संचालन असल छिमेकी नेपालका टंक ढुंगानाले गर्नुभएको थियो ।