बिहिबार, चैत्र २६, २०८२ | April 9, 2026

१३ लघुकथाकारको १३ लघुकथा।।

१३ लघुकथाकारको १३ लघुकथा।।

  • Naveen Sanchar

  • बिहिबार, चैत्र २६, २०८२

  • 70
    Views
१३ लघुकथाकारको १३ लघुकथा।।

-नारद आचार्य सुदामा अमेरिका।

लघुकथा: कस्तूरी

“ के भयो आजभोलि बुबा ? तपाईँको मुहार धपक्कै बलेको देख्छु । यसको भेउ पाउन पाए म पनि खुसी हुन्थेँ।”

“ तैँले थाहा पाइहाल्छस् नि ।” बुबा हाँस्नुभयो।

मैले भनेँ “मानिसको मन पनि अचम्मको छ है बुबा?”

“हो, मनमिटर घुमिरहन्छ , बुझ्नै गाह्रो ।” भन्दै टार्न खोज्नुभयो ।

यतिकैमा साइला काका आएर भन्नुभयो , “तँ यतिको पढेर पनि देशमै सीमित हुने भइस् है ? अन्याय, अत्याचार, भ्रष्ट ,दलाली भएको यस्तो ठाउँमा तिमीहरूको भविष्य कहाँ छ भन् त ?”

“कस्तो कुरा गर्नुहुन्छ काका । सबै परदेश गएका छन् । गाउँमा लास उठाउने समेत मान्छे छैन । म त अब युवाहरूलाई आफ्नै ठाउँमा राख्ने अभियानमा छु।” यथार्थ ओकलेँ ।

काकाले सम्झाउनुभयो ,“हेर् लाटा ! यहाँ रातदिन कमाई गरेर रुपैयाँ कमाइन्छ । त्यहाँ डलरको खेती अर्कै हुन्छ। त्यसैले हेर ,बरु पैसा छैन भने म हालिदिउँला तर नेपाल भने पटक्कै नबस् दुःख पाउँछस्।”

म उत्साहका साथ बोलेँ “म त काका आफ्नो ठाउँ आफै बनाऊँ भन्ने अभियान बोकेर हिँडेको छु। रगत र पसिना आफ्नै माटोमा खन्याउँछु ।”

“मलाई त छोराले अमेरिका बोलाएको छ अर्को हप्ता जाँदै छु । तँ गए तेरा आमाबा पनि पछि जान पाउँछन् ।” लालचाजन्य कुरा काकाले बोलेपछि मैले भनेँ।

“ हेर्नुहोस् काका ! मलाई तँ बराबरको सुन दिन्छु भनेपनि म जाँदिन । पैसा नै सबैकुरा होइन । म मेरो देशमा आत्मसन्तुष्ट छु र मेरा बाआमालाई पनि विदेशको मोह छैन।”

आउँदै गर्दा भतिजोका विदेश नजाने कुरा सुनेका जेठाबाले बुबातिर हेरेर मुख खोल्नुभयो, “ आहा ! कति राम्रो विचार। हेर कान्छा तेरो छोरो देशकै कस्तूरी हो । बिस्तारै सबैले चिन्छन् ।

अम्बिका धिताल
कमलविनायक भक्तपुर

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा: आमाबाबाको आँसु
छोरीको बिहे भएको पनि आज सात वर्ष बितिसकेको थियो। गरिब परिवारमा हुर्किएकी छोरी धनी घरकी बुहारी भएकी थिई। यही कुराले धनबहादुर ढुक्क थिए तर छोरीसँग भेट भएको धेरै समय भइसकेको थियो। अन्ततः उनले एकपटक छोरीको घर गएर हालखबर बुझ्ने निर्णय गरे।
“घरको राम्रोसँग हेरचाह गर्नु, गाईवस्तुलाई समयमै दानापानी दिनु,” भन्दै उनी एक बिहान झिसमिसेमा बाटो लागे। छोरीको घर पुग्न पुरै एक दिन लाग्ने भएकाले उनी पैदलै यात्रा गर्न बाध्य थिए।

दिनभरि हिँडेपछि साँझ ढल्किसकेको बेला उनी छोरीको घर पुगे। मनमा खुशी, माया, उत्सुकता र केही डर मिसिएको थियो। उनले ढोका ढकढकाए। भित्रबाट फुलमायाले छोरीलाई भनिन्,“हेर त, को आयो ढोकामा।”

छोरीले ढोका खोलिन्। बुबालाई देख्ने बित्तिकै उनी ढोग गरिन् तर भित्रबाट आवाज आयो, “को हजुरबा? कसको हजुरबा? मेरा हजुरबा त मरिसके!”

छोरीको यो शब्दले धनबहादुरको मन चिरियो। उनी स्तब्ध भए। केही बोल्न सकेनन्।
नातिनीले आमालाई भनिन्,“आमा, आफ्नै बुबा जिउँदै हुँदा मरिसके भन्नुहुन्छ?”
यत्तिकैमा छोरीका श्रीमान् घरभित्र पसे। उनले ससुरालाई ढोकामा देखेनन्। छोरीले रुँदै भनिन्, “हजुरबा आउनुभएको छ…”
तर फेरि फुलमायाले कडा स्वरमा भनिन्,“कसका बा? मेरा बा त मरिसके!”

यी शब्दहरू बारम्बार सुनेपछि धनबहादुरले केही नबोली आफ्नो झोला बोकेर फर्किए। त्यही बाटो हुँदै, जसबाट आएका थिए।
नातिनीले धेरै बेर “हजुरबा” भनेर बोलाइरही, तर उनी धेरै टाढा पुगिसकेका थिए।

रात परेपछि उनी एउटा ठूलो रुखको फेदमा बसे। मनमा प्रश्नहरू मात्र थिए।
“के मेरी छोरीले मलाई चिनिन? कि म गलत घरमा पुगेँ?”
बिहान भएपछि उनले सोचे । सिधै घर फर्किए भने श्रीमतीलाई के भन्ने? त्यसैले केही दिन जङ्गलमै बिताउने निर्णय गरे। फलफूल खाएर, चराचुरुङ्गीसँग रमाउँदै उनले आफ्नो पीडा बिर्सने प्रयास गरे। केही दिनपछि उनी घर फर्किए।
श्रीमतीले हतारिँदै सोधिन्, “छोरी, ज्वाइँ, नातिनी सबै ठीक छन् नि?”
मनको पीडा लुकाउँदै उनले भने, “सबै राम्रो छ । हाम्री छोरी त निकै सुखी छे।”
तर त्यो रात उनी निदाउन सकेनन्। छोरीको व्यवहारले उनको मनमा गहिरो घाउ लागेको थियो। केही दिनपछि उनले श्रीमतीसँग भने,“म कमाउन जान्छु।”

श्रीमतीले सहमति जनाइन्।
उनी गाउँ बाहिर गएर बस चढे। जीवनमा पहिलोपटक टाढा यात्रा गर्दै उनी अन्ततः एउटा होटलमा काम गर्न पुगे।
एक दिन उनले संयोगवश एउटा झोलाभित्र सुनका गरगहना र धेरै पैसा भेटे। केही दिन सोचविचार गरेपछि उनले त्यो लिएर घर फर्किने निर्णय गरे।
घर फर्किएपछि उनले सबै कुरा श्रीमतीलाई सुनाए। दुवै मिलेर नयाँ जीवन सुरु गर्ने निर्णय गरे। एक वर्षमै उनीहरूले राम्रो घर र सानो पसल बनाए।

तर उता छोरीको घरमा भने परिस्थिति उल्टो भयो। सम्पत्ति हराउँदै गयो। गरिबीले घेर्न थाल्यो। अब छोरीलाई आफ्ना आमाबाबाको सम्झनाले सताउन थाल्यो।

एकदिन उनले श्रीमानसँग भनिन्,“हामी आमा–बाबालाई भेट्न जाऔँ। धेरै याद आइरहेको छ।”

श्रीमान् रिसाउँदै भने, “जब पैसा थियो, तब तिमीले आफ्नै बाबुलाई नचिन्यौ। अहिले सम्झना आयो?”
छोरी मौन भइन्। आँखा रसाए। अब उसले बुझिसकेकी थिई,
आमाबाबाको माया धनभन्दा धेरै ठुलो हुन्छ।

— रिमेन आलोक, अष्ट्रेलिया

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा : कलम
टेकेन्द्र सिह धामी

सुनिता आफ्नो पुरानो कलम हेर्दै थिइँ। थोरै टेढो, थोरै पुरानो, तर अचम्मको शक्ति बोकेको।
खाली कागज अगाडि राखेर उनी डराइन्,“के लेखूँ?”
तर कलमले टुपटुप गर्दै जीवनका अनेकौँ शब्दहरू लेख्न थाल्यो। एक-एक शब्दमा उनको सपना, आशा र हिम्मत भरियो।
जब पृष्ठभरि कथा बनेर तयार भयो, सुनिताले बुझिन्,सानो साधन पनि ठूलो काम गर्छ भनेर, यदि हामीले विश्वास र मेहनत राख्यौँ भने।
सुनिता मुस्कुराइन् र कलमलाई राख्दै भनिन्,
“साँच्चै, शक्ति हामीभित्रै हुन्छ। कलम मात्र मेरो साथी हो।”

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा: माटोको माया

“कहिले जाँदैछस् विदेश?” आमाले सोधिन्।

उसले मोबाइलबाट नजर उठाएन “छिट्टै, सबै मिल्दैछ।”

आँगनमा बुबा चुपचाप बसिरहनुभएको थियो।

त्यही बेला छिमेकी दाइ आए “ढिला नगर है! यहाँ केही छैन। विदेश गएपछि मात्रै मान्छे बन्छ।”

ऊ हल्का मुस्कुरायो,“हो नि दाइ…”

बुबाले बिस्तारै सोध्नुभयो, “त्यहाँ के खोज्न जान्छस्?”

“पैसा… राम्रो भविष्य…” ऊ छोटो बोल्यो।

बाबुले भित्तामा टाँसिएको फोटो देखाउनुभयो माटोमा काम गरिरहेको पुरानो तस्बिर।

“यो घर यही माटोले बनाएको हो,” उहाँले भन्नुभयो, “हामीसँग पैसा थिएन, तर हामी यहीँ थियौँ यहीँ संघर्ष गर्‍यौँ।”

ऊ केहीबेर मौन रह्यो। मोबाइलमा सन्देश आयो “ ”भिसा स्वीकृत भयो।”

ऊ झ्यालतिर गयो। बाहिर केही केटाहरू खेतमा काम गर्दै हाँसिरहेका थिए।

उसले मोबाइल हेर्‍यो केहीबेर रोकियो । अचानक सन्देश मेटाइदियो।

आमाले सोधिन् “के भयो?”

ऊ मुस्कुरायो,“केही होइन अब म यहीँ देशमा नै केही गर्छु।”

अनिता भण्डारी ताप्लेजुङ

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा : परीक्षा

घडीको सुई छिटो दौडिँदै थियो तर उसको कलम रोकिन्थ्यो। प्रश्नपत्र सजिलो थियो। तर मन भारी थियोे ।

हिजो राति उसले बिरामी आमालाई औषधी किन्न नसकेको सम्झना अझै ताजा थियो।
ऊ सोच्दै थियो ।“जीवनको परीक्षा ठूलो कि यो कागजको?”

एकछिन आँखा बन्द गर्‍यो अनि कलम चलायो। उत्तर लेख्दा लेख्दै उसले आँसु पुछ्यो।

घण्टी बज्यो। कापी बुझाउँदा उसको मन हलुका थियो किनकि आज उसले केवल प्रश्नको उत्तर मात्रै होइन, संघर्षलाई पनि जितेको थियो।

भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा : कालो छाया
-कल्पना मरासिनी

“लौन बित्यासै पर्यो नि!” ढिकी कुट्दै गरेकी आमाले ओखलमा धान लाउँदै गरेकी छोरी बिमलीतर्फ हेर्दै भनिन् । बिमली अक्कमक्क पर्दै सोधी, “किन के भयो र आमा?” के भयो भन्नु नि, तँ पर सरेर मरिस् नि ।

राँड….!”बिमलीले ओछ्याएको चकटी माथिको रातो दाग देखाउँदै आमाले भनिन् ।

बिमली डरले केही सोच्न सकिरहेकी थिइन, मानौँ ऊमाथि सिङ्गो पहाड खसेको थियो ।
“अब घाम देख्नहुन्न…” भन्दै आमाले उसलाई पाखुरामा तानेर घरदेखि पर रहेको छाउगोठमा लगिन् ।

अँध्यारो कोठा, नमिठो बास्ना, भत्किनै आँटेको गारो, धुलै धुलोले भरिएको गुन्द्री र बाहिरी संसारबाट निकै भिन्न लाग्ने त्यस झुपडीमा छिर्दा बिमलीलाई आफू एक अध्यारो खाडलमा खसेजस्तै भान भइरहेको थियो। त्यसमाथि एउटा पुरानो आफ्नै गुन्युको पातलो डसना र पुरानो बर्को थमाउँदै आमा बोलिन्,”ल अब नचोखिउन्जेल सम्म यहीँ बस् । तेरा संगीहरूसँग खाना पठाइदिम्ला।” छोरीले केही सोध्न नपाउँदै ढ्याम्म ढोका तानेर आमा बाहिरिन्।फेरि एकैछिनमा फर्केर अलि भारी स्वरमा भनिन्, “राति कसैले ढोका खोल्न लाउला, नखोल्नु नि फेरि…।”

त्यो कोठा र आफ्नै शरीरबाट निस्केको अनौठो गन्धले वाकवाकी लाग्लाझैँ भएकी बिमली रनभुल्लमा परी । उसको कम्मर वरिपरिको नमिठो दुखाई, तल्लो पेट भत्किएर बगिरहेको रगत अनि आँखाबाट बहँदै गरेको कर्णालीको वहाव उस्तै उस्तै लागिरहेको थियो उसलाई… ।

“बिमली ! ए बिमली !” झमक्क साँझमा
चिरपरिचित आवाजमा हावासरी एकाएक सुन्तली भित्रिदा लाग्यो, साक्षात देवी भित्रिइन् । सुन्तलीलाई हाम हालेर हिक्क हिक्क गर्दै बिमली धेरैबेर रोइरही ।

रात छिप्पिँदै गइरहेको बेला जब उनीहरू सामान्य बन्दै थिए । अकस्मात बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो।
मानौँ त्यो आवाज सिधै उनीहरूको मुटुमा घन बनेर वर्षिरहेको थियो। चुपचाप उनीहरू दुवैजनाले श्वास रोकेर भित्रैबाट ढोका ठेलिरहे । केही बेरपछि बाहिरबाट ढोका ढकढक्याउने काम बन्द भयो। टहटह जुनेली रात …..! बिमलीले ढोकाको चरबाट चियाउने बित्तिकै चिनिहाली, हतारमा बाहिरिँदै गरेको उही चिरपरिचित कालो छाया….!

– अर्घाखाँची, हाल ललितपुर

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

कथा: अनौठो प्रेम
प्रेम शर्मा ‘एकान्त प्रेमी’

आकाश हाँसिरहेको छ। यो वातावरणले रूप र रङ फेरिरहेको छ।
यस्तै मेरो जीवनमा पनि परिवर्तनको हावा चल्न थाल्यो। फोनको घण्टी बज्छ। म त्यो फोन उठाउँछु।
रातको अन्धकार वातावरण छ। सबै जना मस्त निद्रामा छन्।म भने अन्धकार रातमा एक अन्जान युवतीको स्वर सुन्छु।
मलाई ती युवतीले भन्छिन्,“म तिमीलाई मित्रताको प्रस्ताव राख्छु।” यत्तिकैमा फोन कट्छ।
मलाई पनि कताकता मनमा काउकुती लाग्छ।“आखिर को होला? मलाई मित्रता प्रस्ताव गर्ने?”
म अचम्ममा पर्छु।मैले उसलाई फोन गर्छु।
“हेलो, तपाईँ को बोल्नु भएको …?”
“म अनु लामा हुँ, रोङगोबाट।
म तिम्रो मित्रता स्वीकार्छु। हामी मित्रमा परिणत हुनेछौँ।”
यसरी हाम्रो मित्रता अगाडि बढ्दै जान्छ।वर्ष बित्छ, महिना बित्छ। समयको परिवर्तनसँगै मलाई उसको सोचाइ मन पर्छ। म बुझ्छु, म उसले मायामा आकर्षित भएको छु।
म उसको माया बिना बाँच्न सक्दिन।हरेक दिनरात उसलाई फोन गर्छु।
समयको परिवर्तनसँगै म उसलाई प्रेम प्रस्ताव राख्छु।उसले यसलाई स्वीकार्छे। म खुशी हुन्छु।मेरो जीवनमा एक परिवर्तन आएको छ।
समयको गति सँगै म उसलाई भेट्ने योजना बनाउँछु।मैले उसलाई फोन गर्छु।
“हेलो, म तिमीलाई भेट्न आइतबार आउँदै छु। बाबाआमालाई जानकारी दिनु है।”
आइतबारको दिन म रोङगोको लागि यात्रामा निस्कन्छु।
असारको महिना छ। पानी परिरहेको छ। कतै पहिरो गएको छ।
म सुखदुःखको भुमरी पार गर्दै रोङगोको रमणीय स्थलमा मेरा पाइला टेकिन्छन्।
एक अन्जान गाउँबाट मलाई लिन मेरी मायालु अनु र उसकी बहिनी आएका रहेछन्।
रात परिसकेको छ। चराचुरुङ्गीहरूले आफ्नो गुँडमा दौडिरहेका छन्।
रिमझिम पानी परिरहेको छ। भिरपाखा मौन भएका छन्।हामी घर पुग्छौँ।सबैजनासँग परिचय आदानप्रदान हुन्छ।यो जीवनका तितोमिठा कुरा डायरीका सेता कागजहरूमा अजम्बरी बनेर सजिरहेका छन्।
यो अनौठो प्रेम …!!!

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा : छल

धन बहादुर मेलोबाट फर्किन्दै गर्दा आफ्नो आँगनमा एक हुल मानिसहरू देखेर अचम्मित हुँदै थिए। आँगनमा पाइला टेक्ने साथै सबैले हात जोरेर नमस्कर गरेपछि त्यसमध्ये एक जनाले भन्न सुरू गर्यो ,
“धन बहादुर दाइ, नमस्कार छ है।हजुरहरूलाई थाहा भएकै कुरा हाे आजसम्म हामीलाई कसैले हेरेनन्। सबैले सधैँ आश्वासन मात्रै दिए केही गरेनन्।अब हामी नै अगाडी आएका छौँ। हामी हाम्रो समाज,गाउँ हुँदै प्रदेश र देशको सम्पूर्ण अव्यस्थित कार्यहरूलाई सहि तरिकाले गर्ने अठोट,संकल्प र प्रण सहित निस्किएका छौँ।हजुरहरूले एकपल्ट मौका दिनुपर्यो।”
उसको कुरा सकिन नपाउँदै फेरि अर्को एकजनाले भन्यो – “लौ त धन बहादुर दाइ हामी सबैको घर दैलोमा पुग्न पर्छ, सबैको समस्या सुन्न पर्छ। हजुरकाे पनि केही गुनासो भए सुनाउनु होला नत्र हामीलाई बिदा दिनु हवस्,अहिलेलाई।”
धनबहादुर केही बोलेनन्। उनीहरू बाटो लागे।

धन बहादुरको स्वास्नी पनि पधेरोबाट आईपुगिन् र आतिन्दै लोग्नेलाई सोधिन् ,” को हुन यिनीहरू? किन आएका थिए?”

धन बहादुरले भने, ” यिनीहरूआगामी चुनावको निम्ति भाेट माग्न हिँडेका नयाँ पार्टी,नयाँ झन्डा बोकेका पुरानै अनुहारका छलियाहरू हुन् । छल गर्न आएका।”

अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ।

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

शीर्षक: मोबाइलको उज्यालो
साहित्य कार सुनिल बोहरा बझाङ

रातको ११ बजिसकेको थियो। घरभरि शान्ति थियो, तर अर्जुनको कोठामा मोबाइलको उज्यालो अझै बलिरहेको थियो।
आमा ढोकामा आएर बिस्तारै भनिन्, “छोरा, अब सुत्ने बेला भयो।”
अर्जुनले टाउको नउठाई भन्यो, “अझै पाँच मिनेट, आमा।”
ती पाँच मिनेट घण्टामा बदलिँदै गए। बिहान स्कूलमा उसलाई निद्रा लाग्यो, पढाइमा ध्यान गएन। शिक्षकले सोध्दा ऊ चुपचाप बस्यो।
साँझ घर फर्कँदा आमा फेरि मुस्कुराउँदै भनिन्, “आज पनि पाँच मिनेट हो?”
अर्जुन लाजले मुस्कुरायो। उसले मोबाइल बन्द गर्यो र भन्यो, “अब पाँच मिनेट होइन, आमा… आज म समयमै सुत्छु।”
त्यो दिनदेखि मोबाइलको उज्यालो भन्दा उसको भविष्यको उज्यालो उसलाई बढी प्रिय लाग्न थाल्यो।

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा :-परिवर्तन

रमेश हरेक बिहान घाम उदाउनु पहिलेनै उठ्थे। घरको कुनामा थोरै अन्न र केही पुराना भाँडा मात्र देख्दा मन भारी हुन्थ्यो। विगतका वर्षको सुख्खाले खेतमा बाली फुस्स परेको थियो, र श्रीमतीको अनुहारमा पनि चिन्ता झल्किन्थ्यो। आठ वर्षकी छोरी प्रतीक्षा, आफ्नो विद्यालयको झाेला समाउँदै केही बेरको लागि आशावादी मुस्कान दिन्थी, तर घरको अवस्था हेर्दा उनी फेरि निराश हुने गर्थिन्।
एकदिन, खेतको धुलोमा काम गर्दै रमेशले आँखा बन्द गरी सोच्न थाले, “के सानो प्रयासले हाम्रो जीवन फेरि उज्यालो बनाउन सक्छ?” उनको मुटुमा डर र आशा दुवै मिसिएको थियो। त्यसै दिन उनले निर्णय गरे—खाली खेतको भागमा तरकारी रोप्ने।
शुरुवात कठिन थियो। घामले छालामा चोट पुर्‍याउँथ्यो, पानीको अभावले बाली सुकेको झैँ देखिन्थ्यो। तर रमेशले हार मानेनन्। घर फर्केर थाकेको शरीरलाई आराम दिँदै पनि राति श्रीमती सुरक्षा र छाेरी प्रतीक्षासँग योजनाहरू बनाउँथे। “सानी, हामी सानो तरकारी बगानबाट ठूलो सपना सुरु गर्छौं,” उनले छोरीको काँधमा हात राख्दै भने। प्रतीक्षाले आँखा चिमोटेर नम्र मुस्कान दिइन्।
केही हप्तापछि, हरियो पात र रंगीन तरकारी बारीमा फुल्न थाले। रमेश र उनकी श्रीमतीले बजारमा सानो तरकारी बेचेर पहिलो आम्दानी पाए। त्यो रकमले प्रतीक्षाकाे पढाइको फीस तिर्न पुग्यो।
लामो समयपछि प्रतीक्षा फेरि विद्यालय जाँदैगर्दा उनी खुसीले खुस्किएर दौडिन्। रमेशको आँखामा आँसु भरिए । भेटिएका कठिनाइ, रातभरको थकाइ, र उनले सहनु परेको डर सबै गायब भएको जस्तो लाग्यो।
“सानो कदमले ठूलो परिवर्तन ल्याउँछ, छोरी,” उनले भने।

प्रतीक्षाले बाबाको हात समाउँदै मुस्कुराइन्। “म पढ्नेछु, बाबा! तपाईंले देखाउनु भएकाे हिम्मत जस्तै म पनि साहसिलो बनूँ।”
त्यो अनुभवले केवल उनको परिवारलाई मात्र होइन, गाउँका अरु मानिसलाई पनि प्रेरित गर्‍यो। केही महिनापछि, गाउँका अरु किसानहरूले पनि सानो तरकारी बगान सुरु गरे। रमेशले महसुस गरे ।आशा र मेहनतले अँध्यारो जीवनमा उज्यालो ल्याउँछ।
राति घरमा सबैसँगै बस्दा, रमेशले मनमनै सोचे, “वास्तवमा ठूलो कुरा सोच्नु मात्र पर्याप्त छैन, सानो कदम उठाउनु पनि जरुरी छ, र त्यो कदमले कहिल्यै खाली हुँदैन।”

डि पी शर्मा खनाल,दैलेख।

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा :पानमती
“दिदी आज खेतमा गर्नुपर्ने कुनै काम छ कि?” पछिल्तिर बाट कसैको आवाज आयो।

म पछाडि फर्केर हेर्दा चिनेचेने जस्तो लाग्यो तर एकिन गर्न सकिन।
“बहिनी को हौ र तिमी?अनि कहाँ बस्छ्यौ?”
मैले एकै स्वासमा भनेँ।

“ए!दिदीले पनि कति नचिन्नु भएको के? म त्यही कटेरोमा बस्ने ट्याक्टर ड्राइभरकी श्रीमती त हुँ नि दिदी।आज बुढा पनि यतिन्जेलसम्म कामबाट आएका छैनन् ।घरमा खानाको नाममा चारजना केटाकेटीलाई मुखमा लगाउने माडसम्म पनि छैन दिदी ।”
पानमतीको कुराले मलाई दया लाग्यो ।मैले भने पानमती मैले तिमीलाई राम्रोसँग त चिन्दिन तर तिम्रा भोकै भएका छोराछोरीलाई यो पैसाले चामल र तरकारी किनेर पेटभरी खुवाऊ।काम पछि हुँदा बोलाउँला भनेर मैले १०००रुपैयाँको नोट दिएँ।

पानमती “दिदी हजुरको यो गुन मैले कहिल्यै भुल्ने छैन” भन्दै आफ्नो बाटो लागी।म पनि आफ्नै काममा व्यस्त भएँ।त्यसको केही समयपछि हाम्रो घरभन्दा केही घर तलतिर बाट निकै चर्को चर्को आवाजले एक जना महिला चिच्चाइ रहेको आवाज मेरा कानमा ठोकिन पुगे।त्यहाँ केही मान्छेहरु जम्मा भएका रहेछन् ।कसलाई केही भएछ कि भन्दै म पनि हतारिदै त्यहाँ पुगेँ ।त्यहाँ त अरु कोही नभएर रक्सीले मात्तिएको अवस्थामा बिच सडकमै लम्पसार परिरहेकी अघि छोराछोरी भोकै भएको बहानामा मसँग काम माग्ने उनै पानमती रहिछन् ……
विष्णु पंगेनी (पाण्डे )
वालिङ ,स्याङ्जा

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

शीर्षक: ‘पहिचान’

“सर, बाहिर एउटा वृद्ध मान्छे हजुरलाई भेट्न आएका छन्, साह्रै मैलो लुगा लगाएका छन्,” अफिसको पिएनले म्यानेजरलाई भन्यो।
म्यानेजरले झर्किँदै उत्तर दियो, “अहिले म मिटिङमा व्यस्त छु भन्दिनू। यस्ता मगन्तेहरू दिनभरि आइरहन्छन्, केही पैसा दिएर बिदा गरिदेऊ!”
पिएन बाहिर गयो र केही बेरपछि एउटा खाम लिएर फर्कियो।
“सर, उनले पैसा लिन मानेनन्। बरु यो खाम हजुरलाई दिनू भन्नुभयो र सुस्तरी हिँड्नुभयो।”
म्यानेजरले लापरबाहीका साथ खाम खोल्यो। भित्र एउटा पुरानो फोटो र एउटा सानो चिठी थियो।फोटोमा म्यानेजर सानो छँदा त्यही वृद्धको काँधमा चढेर मुस्कुराइरहेको देखिन्थ्यो।
चिठीमा यस्तो लेखिएको थियो:
“बाबु, म तिमीसँग पैसा माग्न आएको थिइनँ। डाक्टरले म अब केही दिनको मात्र पाहुना हुँ भनेकाले तिमीलाई अन्तिम पटक हेर्न मात्र आएको थिएँ। तिम्रो पिएनले दिएको त्यो सय रुपैयाँ मैले मन्दिरको पेटीमा राखिदिएको छु, तिम्रो उन्नतिको आशीर्वाद माग्दै।”
म्यानेजरको हातबाट खाम खस्यो। ऊ हतारिँदै गेटबाहिर दौडियो, तर सडकमा मानिसहरूको भिड मात्र थियो।
उसको पहिचान दिने त्यो मान्छे हराइसकेको थियो।

– सलिन विष्ट
बनेपा -१२, काभ्रे

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

लघुकथा; दोषी

साँझको समय थियो। आकाशमा रातो घाम बिस्तारै हराउँदै थियो ।ठिक त्यस्तै हाम्रो सम्बन्ध पनि चुपचाप हराउँदै गएको थियो। तिमी छेउमै थियौ, तर मनको दूरी यति टाढा भइसकेको थियो कि बोल्न खोज्दा शब्दहरू हराउँथे।
मलाई अझै सम्झना छ।तिमीले पहिलो पटक हात समातेको दिन। कति सजिलो लाग्थ्यो सबै कुरा। साना कुरामा हाँस्ने, अनावश्यक झगडा गर्ने, फेरि आफै मिल्ने। तर आज… ती सबै सम्झना मात्र भएका छन्।
“किन यस्तो भयो?” तिमीले एकदिन सोध्यौ।
मसँग जवाफ थिएन। शायद म आफै हराउँदै गएको थिएँ, आफ्नो अहङ्कार, आफ्नो व्यस्तता र आफ्नै सोचमा अल्झिँदै। तिमीले बारम्बार प्रयास गर्यौ, मसँग कुरा गर्न, बुझाउन, सम्हाल्न… तर म सुन्नै चाहिनँ।
आज जब तिमी टाढा गइसकेकी छ्यौ, तब महसुस भइरहेको छ। गल्ती त मेरो नै थियो। तिमीले कहिल्यै छोड्न चाहिनौ, तर मैले नै तिमीलाई छोड्न बाध्य बनाएँ।

अब म एक्लै छु, तिम्रा सम्झनाहरूसँग। मनभित्र एउटा मात्र आवाज गुञ्जिन्छ—
“म तिम्रो दोषी हुँ…”

✍️लोकेश बम ठकुरी

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha