शिवसताक्षी (शिवगञ्ज) र झापा गाउँपालिका जोड्दै
नवीन सन्चार ड्ट कम शिवसताक्षी, झापा
आजको यस ऐतिहासिक अवसरमा उक्त पुलको विधिवत उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज कार्कीज्यूबाट सम्पन्न भएको छ।

समस्त शिवगञ्ज तथा मदरगाछ–लालपानीवासीमा हार्दिक बधाई व्यक्त गरिएको छ। दक्षिण झापावासीले वर्षौंदेखि देख्दै आएको साझा सपना आज साकार भएको छ। माइखोलामाथि निर्माण गरिएको पुल आजदेखि औपचारिक रूपमा दुईपाङ्ग्रे सवारीसाधन तथा पैदल यात्रुका लागि खुला गरिएको हो। शिवसताक्षी नगरपालिकाको शिवगञ्ज र झापा गाउँपालिकालाई जोड्ने यो पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। अब केही दिनमै चारपाङ्ग्रे लगायत सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
यो पुल केवल भौतिक संरचना मात्र नभई दक्षिण झापाको सामाजिक, आर्थिक तथा विकास यात्रासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। पुल सञ्चालनमा आएसँगै किसान, व्यापारी तथा सर्वसाधारणले वर्षौंदेखि भोग्दै आएको सास्तीबाट ठूलो राहत पाउने भएका छन्। खोलामा जोखिम मोलेर नाउमार्फत आवतजावत गर्नुपर्ने तथा वर्षायाममा थप कठिनाइ झेल्नुपर्ने बाध्यता अब अन्त्यतर्फ गएको स्थानीयको भनाइ छ।
अब मदरगाछ–लालपानी क्षेत्रका बासिन्दालाई शिवगञ्ज आउजाउ गर्न सहज हुने भएको छ भने महेन्द्र राजमार्गदेखि तल्लो भेगका शिवगञ्ज, पाँचगाछी र महाभारा क्षेत्रका स्थानीयलाई सुरुङ्गा तथा बिर्तामोड पुग्ने बाटो छोटो, सुरक्षित र सहज बन्नेछ।
माइखोलाको यो पुल शिवसताक्षी नगरपालिकाको विकास यात्रामा ऐतिहासिक कोसेढुङ्गाका रूपमा स्थापित भएको छ। पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि कृषि उत्पादनको बजार पहुँच विस्तार हुने, व्यापार–व्यवसायमा वृद्धि हुने तथा स्थानीय आर्थिक गतिविधिमा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ। समग्रमा, यो पुल केवल दुई स्थान जोड्ने संरचना होइन, दक्षिण झापाको विकास, कृषि समृद्धि र आर्थिक प्रगतितर्फको नयाँ अध्यायको सुरुआत भएको स्थानीयको धारणा छ।

यस ऐतिहासिक कार्यलाई सफल बनाउन योजना निर्माणदेखि सम्पन्नतासम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ, सुझाव र प्रेरणा प्रदान गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गरिएको छ। स्थानीय बासिन्दा, सामाजिक अगुवा, प्राविधिक टोली, सहयोगी संस्था तथा सम्पूर्ण शुभेच्छुकहरूको सामूहिक प्रयास, दृढ संकल्प र अथक मेहनतकै परिणामस्वरूप आज यो सपना साकार भएको बताइएको छ।