दोहा, कतार ।
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले तामाङ समुदायको महान् पर्व मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार–२०२६ को अवसरमा आयोजना गरेको वृहत् सांस्कृतिक कार्यक्रम गत शुक्रबार दोहास्थित पर्लिङ इन्टरनेशनल स्कुलको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।लामा गुरुहरू द्वारा संसारग्याम (पूजाआजा) गरी शुभारम्भ गरिएको कार्यक्रम झाँकी प्रदर्शन, राष्ट्रिय गान, मौनधारण, ब्यानर अनावरण, दीप प्रज्वलन, स्वागत नृत्य तथा तामाङ जागरण गीत मार्फत औपचारिक रूपमा उद्घाटन गरिएको थियो। कतार सरकारको अनुमति लिएर आयोजना गरिएको उक्त कार्यक्रम स्थललाई तामाङ संस्कार अनुसार धर्ज्यु (पवित्र जल) द्वारा शुद्धीकरण गरिएको थियो।कार्यक्रम नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष फुर्बा ग्याबा तामाङको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरी मनाइने परम्परा रहेको छ। वर्ष गणनाको आधार पशुपन्छी भएकाले तामाङ समुदायलाई प्रकृति पूजक समुदायका रूपमा समेत लिने गरिन्छ।दिउँसो करिब २ बजेबाट सुरु भएको कार्यक्रमको रौनक साँझ करिब ८ बजेसम्म कायम रह्यो। साँझको करिब पौने ६ बजेसम्म पर्लिङ स्कुलको सभाहल हजारौँ दर्शकले खचाखच भरिएको थियो।कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित म्हेन्दोमाया गायिका मिना लामाले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन्। उनले तामाङ भाषाका गीतहरू प्रस्तुत गर्दै दर्शकलाई छमछमी नचाइन् र आयोजकप्रति आभार व्यक्त गरिन्।

त्यसपछि चर्चित लोक तथा सेलो गायक तथा संगीतकार विश्व दोङ स्टेजमा उत्रँदै दर्शकलाई ढोग अभिवादन गर्दै “पूर्वको तामाङलाई दुख्दा पश्चिमको तामाङलाई पनि दुख्नुपर्छ” भन्ने भावनात्मक सन्देशसहित सांगीतिक यात्रा सुरु गरेका थिए। करिब डेढ घण्टा लामो प्रस्तुतिमा उनले तामाङ सेलो, पूर्वेली भाका, म्हेन्दोमाया तथा पछिल्लो समय चर्चामा रहेका ‘साइँलो म चार घरे’ र ‘केराको पातले भुईँ छुन्छ’ लगायतका गीतहरू प्रस्तुत गर्दै सभाहललाई उत्सवमय बनाएका थिए।यसका अतिरिक्त कतारमा रहेका दर्जनौँ स्थानीय कलाकारहरूले तामाङ सेलो, ताम्बा नाच, घोडा नाच, म्हेन्दोमाया तथा नेपाली र तामाङ भाषाका गीत–नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राकेश श्रेष्ठले ऐतिहासिक कार्यक्रममा प्रत्यक्ष सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै भव्य कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेकोमा आयोजक घेदुङ प्रवास कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै सोनाम ल्होछारको शुभकामना व्यक्त गरे।कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध मातृसंस्थाहरूले जनजातीय परम्पराअनुसार सगुन (कोसेली) प्रदान गर्दै सद्भाव प्रकट गरेका थिए।

कार्यक्रम संयोजक दिलकुमार स्याङ्बो तामाङले स्वागत मन्तव्य राखेका थिए भने सोनाम ल्होछारको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे संस्थापक अध्यक्ष योगेन्द्र ल्हो तामाङले प्रकाश पारेका थिए। कार्यक्रमको सहजीकरण महासचिव राम बहादुर पाख्रिन तामाङ, उप–महासचिव विनय बोम्जन तामाङ र सपना घलान तामाङले संयुक्त रूपमा गरेका थिए।समापन मन्तव्यमा सभापतिले कार्यक्रमको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक, सहयोगी, प्रायोजक तथा उपस्थित सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल हुनुमा सबैको योगदान रहेको बताए।हजारौँको उपस्थितिका बीच कार्यक्रम अवधिभर खाना तथा पानीको व्यवस्था पनि व्यवस्थित रूपमा गरिएको थियो। सहभागी तामाङ समुदायका सदस्यहरू परम्परागत भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा भिक्टोरिया गोल्ड एण्ड डायमण्ड मुख्य प्रायोजक रहेको थियो। सो अवसरमा ज्वालरिका ब्रान्ड प्रमोशन को–अर्डिनेटर रोशन अर्यालले भिक्टोरिया ज्वालर्सबारे जानकारी गराएका थिए।कार्यक्रममा नेपाल तामाङ महिला घेदुङ, युवा घेदुङ, सांस्कृतिक घेदुङ, ताम्बा घेदुङ र लामा घेदुङ सह–आयोजकको रूपमा रहेका थिए भने नविन सञ्चार कार्यक्रमको सञ्चार सहयोगी रहेको थियो।



