खामिस मुशैत नबिन सन्चार
नेपाली महावाणिज्यदूतावास, जेद्दाद्वारा राहदानी नवीकरण, श्रमिक सचेतना तथा बहिर्गमन भिसा सम्बन्धी एकदिने घुम्ती सेवा कार्यक्रम सन् २०२६ फेब्रुअरी ६ का दिन साउदी अरबको दक्षिणी भेग खामिस मुशैत शहरमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम एनआरएनए क्षेत्रीय परिषद जिजान–अभा–खामिस को सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रमअन्तर्गत १४९ जनाको राहदानी नवीकरणका लागि आवेदन संकलन गरिएको थियो भने २० जनालाई बहिर्गमन भिसा तथा बहिर्गमन अनुमति पत्र प्रदान गरिएको थियो। साथै, ग्लोबल आइएमइ बैंकमार्फत २५ जनाले बैंक खाता खोल्न सफल भएका छन्।

कार्यक्रमलाई सफल बनाउन नेपाली महावाणिज्यदूतावास, जेद्दाबाट खटिनु भएका उप–महावाणिज्यदूत यज्ञराज पौडेल, श्रम सहचारी जीवन घिमिरे, जनसम्पर्क सहायक मोहम्मद अताउल्लाह, साथै दिनेश पण्डित, राजु बास्कोटा र सुजन वाग्लेको प्रत्यक्ष तथा महत्वपूर्ण योगदान रहेको थियो। वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत ग्लोबल आइएमइ बैंकका प्रतिनिधि दीपक गौतमले बैंकिङ सेवासम्बन्धी जानकारी तथा सेवा प्रदान गरेका थिए।
सह–आयोजक क्षेत्रीय परिषदको तर्फबाट आयोजित छोटो औपचारिक कार्यक्रममा नव–उप महावाणिज्यदूत यज्ञराज पौडेललाई विशेष स्वागत गरिनुका साथै सम्पूर्ण दूतावास परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रम एनआरएनए साउदी अरबका संरक्षक लालबहादुर मगरको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य क्षेत्रीय अध्यक्ष शंकर पौडेलले दिएका थिए।
कार्यक्रममा श्रम सहचारी जीवन घिमिरेले दूतावासबाट प्रदान गरिने सेवाहरू तथा श्रमिकहरूले पालना गर्नुपर्ने विषयहरूबारे प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए। विशेष अतिथि उप–महावाणिज्यदूत यज्ञराज पौडेलले श्रमिक हितमा दूतावासको भूमिका, स्थानीय संघ–संस्थासँगको सहकार्य र उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने एनआरएनए क्षेत्रीय परिषदको सम्पूर्ण टिम, प्रायोजक संस्थाहरू— एनसीसी साउदी अरब, गुर्खा रेस्टुरेन्ट (ताबुक), सगरमाथा प्रवासी नेपाली समूह (अभा), हिमालयन रेस्टुरेन्ट (खामिस मुशैत), बिर्यानी स्टेशन (खामिस मुशैत), हातेमालो प्रवासी समूह, साथै जाजिरा, पाण्डा र अलिसार कम्पनीका सहयोगीहरू एवं सम्पूर्ण स्वयंसेवकहरूलाई धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
