शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

कतारमा तमू समुदायले त’–ल्हो ल्होसार भव्य रूपमा मनाए

कतारमा तमू समुदायले त’–ल्हो ल्होसार भव्य रूपमा मनाए

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • आइतवार, पुस २०, २०८२

  • 344
    Views
कतारमा तमू समुदायले त’–ल्हो ल्होसार भव्य रूपमा मनाए

दोहा, कतार :तमू (गुरुङ) समुदायको महान तथा राष्ट्रिय पर्व तमू ल्होसार यस वर्षको त’–ल्हो ल्होसार (घोडा वर्ग) दोहामा भव्य सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। “तमूहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ दोहामा स्थापित दुई मातृ संस्थाहरू तमू (गुरुङ) समाज कतार र तमू प्ये ल्हु संघ, शाखा कतारले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्।गत शुक्रबार २ जनवरी २०२६ मा अल-ओकिर स्थित डीपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा तमू प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष राम ल्हेगे गुरुङको अध्यक्षता तथा कतारका लागि नेपाली पर्यटनदूत राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो।

तमू परम्परा अनुसार क्यब्री गुरु नवीन टु गुरुङ र पच्यु गुरु अशोक सर्बुजा गुरुङले आशिमाला पाठ गर्दै देवी–देवता तथा कुल–पितृको स्मरणसहित कार्यक्रमको शुभारम्भ गरेका थिए। दीप प्रज्वलनपछि तमू राष्ट्रिय गान (तमू ह्युल क्वोई) गायन गरिएको थियो।कार्यक्रममा तमू (गुरुङ) समाज कतारका अध्यक्ष चन्द्र तमू गुरुङ “दिनेश”ले स्वागत मन्तव्य दिएका थिए। कतारमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सीमित वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।तमू ल्होसार विक्रम संवत् अनुसार पुष १५ गते मनाइने पर्व हो, जसले गुरुङ समुदायमा नयाँ वर्षको सुरुवातको संकेत गर्दछ। तमू पात्रोमा १२ वर्ग रहने र प्राचीन तमू प्यो शास्त्र अनुसार यही दिन तमूहरूको प्रथम महापुरुषको उत्पत्ति भएको विश्वास गरिन्छ।

कार्यक्रममा दुवै संस्थाका सांस्कृतिक विभागका कलाकारहरूले मौलिक गीत, नृत्य र प्रस्तुतिहरु  दिएका थिए। गुरुङ पोशाकमा सजिएर झपक्कै बलेका  युवा–युवती तथा सहभागीहरूले  मौलिक एवंम्  मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु संगै  भरपूर आनन्द लिएका थिए। नेपालबाट आमन्त्रित पूर्वनिर्धारित केही कलाकारहरु भिसा समस्याका कारण उपस्थित हुन नसके पनि, अतिथि कलाकार कुशल थलाङ सहित कतारमा रहेका तमू सांस्कृतिक परिवारका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालमा लोपोन्मुख हुँदै गएको रोधी संस्कृतिको जीवन्त प्रस्तुति गरिएको थियो। ङोलो र ङोल्स्योबीचको प्रत्यक्ष दोहोरी तथा सामाजिक सञ्जालमा भाइरल चुट्का गीत–नृत्यले दर्शकको विशेष ध्यान तानेको थियो।आदिवासी जनजाति महासंघमा आबद्ध मातृ संस्थाहरु, पाल्पाली सेवा समाज कतार, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति र नेपाल तामाङ प्रवासी समाज महिला विभागले आयोजक संस्थाका महिला विभागलाई संस्कार र संस्कृति संरक्षणप्रति सम्मान स्वरूप कोसेली प्रदान गरेका थिए।

यसै अवसरमा अघिल्लो साता सम्पन्न छेलो प्रतियोगिताबाट चयन भएका तमू राजा (म्रु) — दोर्दी गाउँपालिका–५, लमजुङका सेनबहादुर गुरुङ लाई क्रेगी, प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कतारमा तमू समुदायले संयुक्त रूपमा ल्होसार मनाएकोमा प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए।

भिक्टोरिया ज्वेलर्स एण्ड डायमण्ड मुख्य प्रायोजक रहेको कार्यक्रममा कम्पनीका ब्रान्ड प्रमोसन को–अर्डिनेटर रोशन अर्यालले सुरक्षित र भरपर्दो सुन कारोबारसम्बन्धी जानकारी दिएका थिए।कार्यक्रमको सहजीकरण फलेन्द्र तमू, धन तमू, रश्मि गुरुङ र सुजन गुरुङले गरेका थिए।समापन मन्तव्यमा सभाध्यक्ष राम ल्हेगे गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ–संस्था तथा मूल आयोजक समितिप्रति धन्यवाद व्यक्त गरे।

   



सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha