दोहा,कतार– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले माउण्ट एभरेष्ट टु एन्टार्टिका महाद्वीप सम्मको बिश्व यात्रामा निस्किएका विश्व साइकल यात्री “निरन्जन अर्याल” लाई सम्मान गरेको छ । हिज शुक्रबार साँझ एनसिसि कार्यालयको सभाहलमा आयोजित स्नेह, मिलन तथा सम्मान कार्यक्रममा एनसीसी कतारका अध्यक्ष पदम गिरिको अध्यक्षतामा सम्पन्न भएको हो । उपस्थित सम्पूर्णलाई एनसीसी कतारका प्रथम उपाध्यक्ष रोशन अर्यालले स्वागत गरेका थिए ।

अर्याल पृथ्वीमा भईरहेको जलवायु परिबर्तनका कारणले पर्यावरण, मानवजीवनमा पर्ने असर र परिबर्तन सम्बधि सचेतना एवंम् सन्देशका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा देखि दक्षिणी गोलार्दमा रहेको एन्टार्टिका महाद्वीपसम्मको साईकल यात्राका क्रममा कतार आईपुगेका थिए । मानव सभ्यताको बिकास संगै आधुनिकीकरण तर्फ उन्मुख हुदा औद्योगिकरण, भौतिक साधनबाट उत्पन्न विकारयुक्त तत्वहरुको अधिकतम उद्पादनबाट प्रदूषण बढ्दै गएको छ। यसको साथमा बनजंगल फडानी, आगजनीले गर्दा पृथ्वीको आद्रतामा परिबर्तन हुन थालेको छ, जसका कारण जलवायु परिबर्तनले गर्दा यसको प्रतक्ष असरहरु देखा परिरहेका छन् । प्राणिजगतका लागि दैनिक जीवनयापन गर्नाका निम्ति प्राकृतिक असर कम गर्नुका हेतु, सो सम्बन्धी जनचेतना फैलाउन, प्रदूषण न्यूनीकरण, सकारात्मक सोचको बिकास, प्राकृतिकप्रेमी र विश्वमा नेपाललाई चिनाउने मुख्य उद्धेश्य बोकेर नेपालको सगरमाथा देखी अन्टार्कटिका सम्मको बिश्व साइकल यात्राको दोश्रो चरणको भ्रमणमा कतार आइपुगेको अवसरमा उनलाई खादा लगाई सम्मान पत्रद्वारा, नगद सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै अर्यालले यात्राको क्रममा हरेक मुलुकमा रहेका नेपाली समुदायबाट गरिएको सम्मान र सहुलियत प्रति प्रशंसा ब्यक्त गर्दै, प्रेरणा र साहस मिलेको बताए। नेपाल सरकारद्वारा मान्यता प्राप्त गरि अनुमति लिएका भएपनि कति मुलुकहरु मा भिषाको समस्याका कारण समयमा पुग्ने नसकेको गुनासो गर्दै सरोकार पक्षलाई सहजीकरणका लागि अनुरोध समेत गरेका छन् । दोस्रोपटक कतार आईपुग्दा यहाँ पाएको साथ समर्थनको प्रशंसा गर्दै, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार प्रति हार्दिक आभार व्यक्त गरेका छन् । यात्रामा पर्ने तत्काल आवश्यकतालाई मध्येनजर गर्दै एनसीसी कतारले गरेको सम्मान र सहायताका लागि धन्यवाद ब्यक्त गरेका थिए ।अर्यालले पहिलो चरणमा थाइल्यान्ड, लाओस , कम्बोडिया, चीन, मलेसिया, सिगांपुर र भारत गरेर आठवटा देश भ्रमण सकेर अहिले दोस्रो चरणमा साउदी अरब, ओमानको भ्रमण सकेर कतार आइपुगेका हुन् । आगामी महिनामा साउदी हुँदै अफ्रिकी मुलुक तर्फको यात्रा जारी रहने पनि उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले, अर्याल उनको गृहजिल्लावासी छिमेकी समेत भएकाले खुशी व्यक्त गर्दै, उनको यो प्रयास, हिम्मत र साहसको उच्च प्रशंसा गर्दै, उनको अभियानलाई सफल पर्न आफु ब्यक्तिगत तथा संस्थागत सहजताका लागि कुनैपनि अबस्थामा तत्पर रहेको बताएका छन् । कतार बसाई अबधिभरका लागि एनसीसी कतारले उनलाई बसोबासका लागि बन्दोबस्त गर्ने जानकारी दिए । नेपाललाई विश्व सामु चिनाउने र पबित्र उधेश्यका साथ यात्रामा निस्किएका अर्याललाई पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् ।