दोहा (कतार) — गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारले कतारको राष्ट्रिय दिवस अर्थात “नेशनल डे” का दिन एनसीसीको सिफारिसमा आईसीसी श्रमिक कल्याणकारी कोषबाट एनसीसी कतारका पूर्व सांस्कृतिक संयोजक स्यामुअल सुनुवार (श्याम) लाई उपचारको लागि एक लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।
केहि महिना आगाडी बिरामी परेका सुनुवार हमाद हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए। उपचारका क्रममा उच्च रक्तचापका कारण उनलाई पक्षघात भएको थियो। लामो समय अस्पतालमा उपचार भैसके पछी सुधार हुने क्रममा अस्पतालले बाकि उपचारको लागि आहार बिहारलाई ध्यानमा राखी घरमा नै गर्नसकिने बताएको थियो। सोहीअनुसार,कतारमा स्थापित बिभिन्न सामाजिक संघ सस्थाको पहलमा बाकि उपचार र हेरचाह लागि उनलाई नेपाल पठाईएको थियो। हाल नेपालमा परिवारको साथमा उनको स्वस्थमा क्रमिक रुपमा सुधार हुदै आएको परिवार स्रोतबाट जानकारी आएको छ।

एनसीसी कतारले राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको मिलन कार्यक्रममा एनसीसी कतारका अध्यक्ष पदम गिरीले उक्त सहयोग, एनसीसी कतारको पहल र सिफारिसका आधारमा आईसीसी श्रमिक कल्याणकारी कोषबाट सहयोग उपलब्ध गराइएको स्पष्ट पारे। साथै अध्यक्ष गिरीले एनसीसीद्वारा संकलित अतिरिक्त सहयोग रकम समेत केही दिनभित्र सुनुवारको खातामा जम्मा गरिने जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी एनसीसीका पूर्व अध्यक्ष तथा आईसीसी मानार्थ सदस्य मोहम्मद मुक्तादा मुसलमानले श्रमिकहरु लाई भई परि आउने यस्ता किसिमका समस्याको लागि आवश्यक सहयोग चाहिएमा एनसीसीको सिफारिसमा आईसीसीले श्रमिक कल्याणकारी कोषबाट सहयोग गर्न सकिने बताउदै, जुन सुनुवारको थप उपचारको लागि एनसीसीले पहल गर्यो, एनसीसी कतारलाई धन्यवाद व्यक्त गरे ।उक्त कार्यक्रम कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको थियो।
