
यान्बु (साउदी अरब),
साउदी अरबको यान्बुमा नेपाली महावाणिज्य दूतावास जेद्दाद्वारा आयोजित पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना तथा समस्या समाधानसम्बन्धी एक दिने घुम्ती शिविर सम्पन्न भएको छ।
नेपाली सेवा समिति–यान्बुको सहजीकरणमा सम्पन्न कार्यक्रममा महावाणिज्य दूतावासका प्रमुख पारस पण्डितले श्रमिकहरूको समस्या समाधान र सचेतनामूलक जानकारी प्रदान गर्नुभयो। भौगोलिक रूपमा दूतावाससम्म पुग्न समय र खर्च बढी लाग्ने भएकाले आफ्नै क्षेत्रमा सेवा पाउँदा खुशी लागेको सहभागीहरूले बताएका छन्।
समितिका कार्यवाहक अध्यक्ष धन बहादुर गुरुङले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर राख्न आग्रह गर्दै दूतावास र स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्नुभयो।
यान्बु, रबिक, मदिना, अल वाज, दुबा, रेड सी लगायतका क्षेत्रबाट आएका १६१ जनाले पासपोर्ट नवीकरणका लागि लाइभ इन्लोल्मेन्ट आवेदन दिएका थिए। कार्यक्रममा महावाणिज्य दूतावासका प्रमुख पारस पण्डित, शुवास यादव, राजु बास्कोटा, सुरेश पण्डित, सुमन वाग्ले लगायतको उपस्थिति थियो।
सो अवसरमा नव नियुक्त महावाणिज्य दूत पारस पण्डितलाई पुष्पगुच्छा र दोसल्ला ओढाएर स्वागत गरिएको थियो।