
रियाद, साउदी अरब सन्चार डट कम
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दसौँ राष्ट्रिय महाधिवेशन २०२५ जुलाई १८ मा राजधानी रियादमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। संघकी अध्यक्ष श्रीमती रविना अर्यालको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा नयाँ नेतृत्वको चयन गरिएको हो।
अधिवेशन अन्तर्गत आईसीसी सदस्य राम बहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले २०२५–२०२७ कार्यकालका लागि उमेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध घोषणा गरेको हो।
कार्यक्रमको सुरुवात पानसमा दीप प्रज्वलन र राष्ट्रिय गानका साथ गरिएको थियो। विभिन्न क्षेत्रीय समितिहरूद्वारा झाँकी र मार्च पास प्रस्तुत गरिएको यस अधिवेशनमा वरिष्ठ उपाध्यक्ष उमेश भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो।
महासचिव शुक्र लामाले प्रस्तुत गरेको कार्य प्रगति विवरण अनुसार गत कार्यकालमा ३७ राहदानी सिविर र २ स्वास्थ्य सिविर संचालन गरिएको थियो। यसमार्फत ५७ हजार ४१८ भन्दा बढी नेपाली श्रमिकहरू लाभान्वित भएका थिए। साथै, नेरू २४ लाख ८९ हजारभन्दा बढी राहत तथा आर्थिक सहयोग प्रदान गरिएको विवरण प्रस्तुत गरिएको थियो।
कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघले २ वर्षको अवधिमा SR ५१,६३० खर्च गरी राहदानी सिविरहरू सञ्चालन गरेको जानकारी दिनुभयो। कुल कारोबार SR ३१३,६४७ भएको सो प्रतिवेदन अधिवेशनबाट सर्वसम्मत पारित भएको हो।
निर्वाचित कार्यसमिति:
- अध्यक्ष: उमेश भट्टराई
- वरिष्ठ उपाध्यक्ष: हेम सुवेदी
- उपाध्यक्षहरू: राजकुमार गिरी, मनिष कोईराला, अर्जुन थापा, विष्णुप्रसाद भण्डारी
- महासचिव: शुक्र लामा
- सचिव: ध्रुव कटुवाल
- कोषाध्यक्ष: योगेन्द्र बहादुर श्रेष्ठ
- सह-कोषाध्यक्ष: संजोग पाण्डे
- युवा संयोजक: पदम महता
- महिला संयोजक: लक्ष्मी थापा मगर
निर्वाचित केन्द्रीय सदस्यहरू:
महेश घिमिरे, युवराज पोखरेल, खिलेन्द्र कन्दवा, भीम कार्की, पूर्ण बहादुर सुनार, रमेश सिंह खत्री, हरी प्रसाद बिष्ट
निर्विरोध ICC सदस्य:
रविना अर्याल, रामबहादुर लामा, अमृत बहादुर घिसिङ
महामहिम नेपाली राजदूत डा. नरेश विक्रम ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै द्वितीय सचिव अमर बहादुर नेपाली, तृतीय सचिव दिनेश सिवाकोटी, पर्यटन दूत राजेन्द्र अर्याल लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा लोकप्रिय सेलो गायिका जितु लोप्चनको सांगीतिक प्रस्तुति रहेको थियो। साथै साउदी अरबका विभिन्न शहरहरूबाट सयौँको संख्यामा एनआरएनएका पदाधिकारी, सदस्य, समाजसेवी र कलाकर्मीहरूको सहभागिता थियो।
नव निर्वाचित अध्यक्ष उमेश भट्टराईले सम्बोधन गर्दै अधूरा कामहरूको निरन्तरताका लागि सशक्त कार्यदिशा प्रस्तुत गर्नुका साथै संघप्रति विश्वास र समर्थन जनाउने सबैलाई धन्यवाद दिनुभयो।
निवर्तमान अध्यक्ष रविना अर्यालले आफ्नो कार्यकालमा साथ दिने सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो।
नेपाली राजदूत डा. ढकालले श्रमिक हितमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै दूतावासको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।