
काठमाडौँ । नेपालको सरकारी सेवा, सार्वजनिक निकाय तथा संगठित क्षेत्रका कर्मचारी तथा कामदारहरुको अवकाश योगदानको व्यवस्थापनको माध्यमबाट अवकाश पश्चात्को जीवनमा सामाजिक सुरक्षाको प्रबन्ध गर्ने उद्देश्यले वि.सं.२०१९ सालमा स्थापित कर्मचारी सञ्चय कोष स्थापनाको ६१ वर्ष पूरा गरी ६२ वर्षमा प्रवेश गर्ने तरखरमा छ । सञ्चयकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालन, प्राप्त प्रतिफलको न्यायोचित वितरण र सेवा प्रवाहमा गुणात्मक सुधार गर्दै सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति कोष सदैव क्रियाशील रहेको छ । सञ्चयकर्ताको मासिक रुपमा कट्टी हुने सञ्चित रकम सुरक्षित तवरले जम्मा गर्ने उद्देश्यले स्थापित कोषको भूमिका र कार्यक्षेत्रमा हाल आएर व्यापक परिवर्तन हुनुका साथै कोषप्रतिको अपेक्षामा पनि वृद्धि भएको छ । कोष आफ्नो स्थापनाको यो ६ दशक बढीको अवधिमा विभिन्न आरोह अवरोहहरु पार गर्दै सञ्चयकर्ताको उच्चतम सन्तुष्टिका खातिर लागि परेको छ । समयक्रमले सिकाएको अनुभव र अन्तर्राष्ट्रिय अभ्यासहरुको अवलम्बन गर्दै अघि बढेको कर्मचारी सञ्चय कोष अब तीनवटै तहका सरकारी सेवाका राष्ट्र सेवक कर्मचारीका अतिरिक्त सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा नेपाल सरकारको आर्थिक अनुदानमा सञ्चालन हुने सबै सार्वजनिक निकायका कर्मचारीहरुको सञ्चय कोष तथा निवृत्तभरण कोष व्यवस्थापन गर्ने निकायको रुपमा रुपान्तरित भएको छ । मुलुकको अग्रणी र एकमात्र सामाजिक सुरक्षा प्रदायक संस्थाको हैसियतले २०४८ सालमा सञ्चयकर्ता काजक्रिया अनुदान योजनाबाट आरम्भ गरिएको सामाजिक सुरक्षाका योजनाहरु, दुर्घटना क्षतिपूर्ति योजना,सुत्केरी तथा शिशु स्याहार सुविधा तथा २०७५÷०७६ मा सञ्चयकर्ता स्वास्थ्य बीमा योजना र हाल आएर सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत सामान्य रोगको हकमा एक आर्थिक वर्षमा रु. १ लाख र घातक रोगको हकमा जम्मा रु. १० लाखसम्म सोधभर्ना प्रदान गर्ने गरी सञ्चालन गरिरहेको छ । सामाजिक सुरक्षाका विभित्र कार्यक्रम र योजनाका साथ अघि बढिरहेको कोषले आफ्ना अधिकांश काम कारवाहीहरु प्रविधिमा आधारित बनाउँदै लगेको छ । परम्परागत प्रक्रियाबाट सेवा प्रवाह गर्दा सुरक्षित,सहज,सरल तथा परिणाममुखी तवरबाट सेवा प्रवाह गर्न सकिंदैन भन्ने मान्यतालाई मनन गर्दै निरन्तर सुधारको मार्गतर्फ प्रेरित भएको कोषले एक वर्षको अवधिमा प्रविधिमा व्यापक सुधार गरी डाइरेक्ट ट्रान्सफर टु अकाउण्ट(डीटीए), अनलाईन सापटी,कनेक्ट आइपीएस मार्फत अनलाईन र मोवाइलबाटै विभिन्न शीर्षकका विगत केही वर्ष अघिदेखि सञ्चयकर्ताको व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको कोषले सोही विवरणका आधारमा अनलाईन प्रणालीबाट सेवा प्रवाह गर्न सफल भएको छ । निश्चित र सुरक्षित ढङ्गले आफूले खोजेको सेवा खोजेको समयमा पायक पर्ने स्थानबाट बिना झन्झट प्राप्त गर्न सक्नु सञ्चयकर्ताको सन्तुष्टिका आधार हुन । सञ्चयकर्ताको सन्तुष्टितर्फ परिलक्षित हुँदै सञ्चय कोष र सामाजिक सुरक्षा सुविधाहरूको सुव्यवस्थापनद्वारा सञ्चयकर्तालाई सामाजिक सुरक्षणको प्रत्याभूति दिई कोषलाई सन्तुष्ट सञ्चयकर्ताको ठूलो सन्तुष्ट परिवार बनाउने कोषको दीर्घकालीन लक्ष्यलाई साकार बनाउनेतर्फ कोषका सम्पूर्ण क्रियाकलापहरु केन्द्रित रहने गरेका छन् । यसको अलावा मुलुकको पूर्वाधार विकासको राष्ट्रिय अभियानमा कोषले आफ्नो आर्थिक श्रोतको यथासम्भव परिचलन गर्दै आएको छ । यसै सन्दर्भमा मुलुकलाई अन्धकारबाट मुक्त गरी उर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउन विभिन्न जलविद्युत आयोजनाहरुमा लगानीका लागि आन्तरिक स्रोत परिचालन गर्न कोष सफल भएको छ । त्यसैगरी अन्य विभिन्न उत्पादनशील क्षेत्रहरुमा गरेका लगानी समेतबाट सञ्चयकर्तालाई उचित. प्रतिफल प्रदान गर्दै त्यस्तो प्रतिफलको केही अंशबाट विभिन्न जगेडा कोषहरु सृजना गरी सञ्चयकर्ताकै हितमा आकर्षक एवम् दिगो र भरपर्दो सामाजिक सुरक्षा सुविधाहरुको निरन्तरताका लागि आवश्यक वित्तीय व्यवस्था गर्न कोष सफल भएको छ । यसैगरी कोषले आफूलाई सुदृढ र गतिशील संस्थाको रुपमा विकास गर्नका लागि कार्य क्षेत्र र दायरा विस्तार,वित्तीय स्रोतको दिगो व्यवस्थापन, सञ्चयकर्ता मैत्री सेवा प्रवाह, संस्थागत सुदृढीकरण र क्षमता विकास तथा सूचना तथा प्रविधिको प्रभावकारी उपयोग जस्ता पाँच बिषयलाई कोषको आगामी पाँच वर्षको प्रमुख रणनीतिक स्तम्भको रुपमा अवलम्वन गर्दै सोही अनुरुप हुनेगरी कोषका सम्पूर्ण रणनीति तथा कार्यनीतिहरु तय गरेको छ । कोषका क्रियाकलापहरू पारदर्शिता, जवाफदेहिता, कार्यदक्षता, प्रभावकारिता, निष्पक्षता र तटस्थता, सहकार्य र सहभागिता, नतिजा उन्मुख, सेवाको गुणस्तरमा निरन्तर सुधार जस्ता मूल्य मान्यताका आधारमा सञ्चालित छन्।