काठमाडौँ, कात्तिक १४ गते। प्रवासी नेपाली मञ्च (ओएनएफ) को दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा विश्वका पाँच महादेशका ३८ देशबाट ३५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा हुने अधिवेशनले मञ्चको आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै प्रवासी नेपालीका अधिकार, नागरिकता र नेपालको समृद्धिका सवालमा महत्वपूर्ण छलफल गर्नेछ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना हुने अधिवेशनको तयारी तीव्र पारिएको मञ्चले जनाएको छ।
ओएनएफका उपसचिव तथा संगठन विभाग उपप्रमुख प्रभुराम थापाका अनुसार अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकका अधिकार, संवैधानिक तथा राजनीतिक हकहितका साथै नेपालको आर्थिक तथा सामाजिक समृद्धिका विषयमा छलफल हुनेछ।
‘श्रमिकको अधिकार, वंशजको नागरिकताको सुनिश्चितता, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अधिवेशनमा पाँच महादेशीय कमिटी र ३८ देशका राष्ट्रिय कमिटीका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
अधिवेशनले प्रवासमा रहेका नेपालीका साझा सवालमा छलफल गर्नुका साथै संगठनको आगामी चार वर्षको कार्यदिशा र नेतृत्व तय गर्ने अपेक्षा गरिएको छ।