शुक्रबार, मंसिर ५, २०८३ | November 20, 2026

हरिबोधिनी एकादशी : आन्तरिक चेतनाको प्रतीक

हरिबोधिनी एकादशी : आन्तरिक चेतनाको प्रतीक

  • Naveen Sanchar

  • शुक्रबार, मंसिर ५, २०८३

  • 55
    Views
हरिबोधिनी एकादशी : आन्तरिक चेतनाको प्रतीक

काठमाडौँ, मङ्सिर ४ गते । सनातन परम्पराअनुसार हरिबोधिनी एकादशी (ठुलो एकादशी) भगवान् विष्णु चार महिनाको योगनिद्रा (चतुर्मास) बाट ब्युँझिने दिन हो ।

संस्कृतिविद लेखनाथ शास्त्रीको दृष्टिकोणमा ‘हरि’ भन्नाले कुनै बाह्य व्यक्ति वा आकाशमा बस्ने ईश्वर मात्र होइन, बरु हामीभित्रै सुषुप्त अवस्थामा रहेको परम चेतना हो । संस्कृतिविद् शास्त्रीका अनुसार मानिस सामान्यतया अज्ञानता, अहंकार र मनका विचारको गहिरो निद्रामा बाँचिरहेको हुन्छ ।

हरिबोधिनी एकादशीको वास्तविक अर्थ बाहिरका भगवान् ब्युँझिनु होइन, बरु ध्यानमार्फत आफूभित्रको सुतेको चेतनालाई जगाउनु भएको उहाँले बताउनुभयो ।
हरिबोधिनी एकादशी पात्रोको मिति वा बाह्य पूजापाठ मात्र होइन । यो त ‘अचेतनाबाट जागरणतर्फ’ जाने अवसर हो, जहाँ साधकले आफ्ना एघार इन्द्रियलाई संयमित गर्दै वास्तविक उपवासमा बसेर आफूभित्रको ‘हरि’ अर्थात चेतनालाई ब्युँझाउँछ ।

एकादशीको अर्थ

उहाँका अनुसार मानिसका पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो, छाला), पाँच कर्मेन्द्रिय (हात, खुट्टा आदि) र मन गरी एघार वटा इन्द्रिय छन् । ती एघारवटा इन्द्रिय जब बाहिरी संसारतर्फ दौडिन छोडेर भित्रतर्फ मोडिन्छन्, त्यो नै वास्तविक ‘एकादशी’ हो । एघारौँ तत्व अर्थात् ‘मन’ लाई शान्त पार्नु नै एकादशीको उद्देश्य हो ।

उपवास के हो ?

एकादशीमा व्रत बस्ने परम्परालाई उहाँले निकै गहिरो अर्थ दिनुभएको छ। उहाँका अनुसार ‘उपवास’ दुई शब्दको योगबाट बनेको छ । ती ‘उप’ र ‘वास’ हुन् । जसको शाब्दिक अर्थ ‘नजिक बस्नु’ हो । केवल अन्न त्यागेर भोकै बस्नु मात्र उपवास होइन । यदि भोकै बस्दा पनि मनमा खानाको विचार चलिरहन्छ भने त्यो उपवास होइन, केवल भोक हड्ताल मात्र हो । शरीर र मनका उत्तेजनालाई शान्त पारेर साधक परमात्माको नजिक बस्नु नै उपवास भएको उहाँले बताउनुभयो ।

तुलसी विवाह मिलनको प्रतीक

हरिबोधिनी एकादशीमा तुलसी र भगवान् विष्णु (शालिग्राम) को विवाह गर्ने चलन छ । यो भक्त र भगवान्को मिलनको प्रतीक हो । तुलसी प्रकृति, शुद्धता र समर्पणको प्रतीक हो । अहंकार पग्लिएपछि साधक पूर्ण समर्पणका साथ अस्तित्वसँग एक हुन्छ । त्यसछि भित्र ‘तुलसी विवाह’ अर्थात् दिव्य मिलन हुने उहाँले बताउनुभयो ।

चतुर्मास र साधनाको पूर्णता
वर्षायामका चार महिना (हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म) बाहिरी यात्रा र गतिविधि कम हुने भएकाले प्राचीन ऋषिले यसलाई अन्तर्यात्रा र साधनाको समय बनाउनुभएको थियो । चार महिनाको गहिरो ध्यानपछि जब साधकको भित्री प्रकाश प्रज्वलित हुन्छ, त्यो उत्सव नै हरिबोधिनी एकादशी हो ।

प्रमुख परम्परा
व्रत र फलाहारः हशिबोधिनी एकादशीका दिन भक्तजनले भगवान् नारायणको पूजा आराधना गर्ने, व्रत बस्ने र सखरखण्ड, पिँडालु, तरुल जस्ता कन्दमूल तथा फलफूल सेवन गर्ने परम्परा छ ।
तोरण टाँग्नेः नदी वा मन्दिर क्षेत्रमा फूलको मालाको तोरण बनाएर टाँग्ने प्रचलन छ ।

प्रसिद्ध तीर्थस्थलः

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ पत्यकाका चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गु नारायण र शेषनारायण), बूढानीलकण्ठ, सुनसरीको बराहक्षेत्र तथा कालीगण्डकी नदी किनारका विभिन्न घाटमा मेला लाग्ने गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha