एभरेस्ट ज्वेलर्सका सञ्चालक तारा सिन्चुरीको हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा कार्लोस इड्रोगो–आरियास पक्राउ; रिचर्ड गुजमान–गुजमान अझै फरार, प्रहरीले सशस्त्र र खतरनाक रहेको भन्दै सर्वसाधारणलाई सचेत गरायो।
सहयात्री ढकाल, अमेरिका।
अमेरिकाको ओहायोस्थित एभरेस्ट ज्वेलर्सका सञ्चालक तारा सिन्चुरीको हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना संदिग्धलाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोप लागेका अर्का संदिग्ध भने अझै फरार छन्। प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ।
फेयरफिल्ड प्रहरी विभागका अनुसार सन् २०२६ अक्टोबर २० मा दिउँसो १ बजेभन्दा केही समयअघि दुई जना पुरुष ग्राहक बनेर एभरेस्ट ज्वेलर्समा प्रवेश गरेका थिए। उनीहरूले पसलका सञ्चालक सिन्चुरीसँग सामान खरिद गर्ने बहानामा कुराकानी गरेका थिए।
केही समयपछि दुवैले बन्दुक निकाल्दा उनीहरू र सिन्चुरीबीच संघर्ष भएको थियो। सोही क्रममा सिन्चुरीको मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ। त्यसपछि संदिग्धहरूले पसलमा रहेका बहुमूल्य सामान लुटेर घटनास्थलबाट फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि अनुसन्धानमा खटिएको प्रहरीले विभागको Flock Automated License Plate Reader (ALPR) प्रणालीमार्फत सम्भावित सवारीसाधन पहिचान गरेको थियो। उक्त प्रविधिबाट प्राप्त सुराक तथा व्यवसायस्थलको निगरानी क्यामेरामा कैद भएका दृश्यहरूको विश्लेषणपछि प्रहरीले दुई जना संदिग्धको पहिचान गरी पक्राउ पुर्जी जारी गराएको जनाएको छ।
प्रहरीका अनुसार नोभेम्बर ४ मा अनुसन्धान टोली न्युयोर्क सिटी पुगेको थियो। अमेरिकी युएस मार्शल्स सर्भिसको सहयोगमा कार्लोस इड्रोगो–आरियासलाई पक्राउ गरिएको हो। उनी हाल ओहायो सुपुर्दगीका लागि न्युयोर्कमा हिरासतमा रहेका छन्।
यस घटनामा संलग्न रहेको आरोप लागेका अर्का संदिग्ध रिचर्ड गुजमान–गुजमान भने अझै फरार छन्। उनी न्युयोर्क वा न्युजर्सी क्षेत्रमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ। उनको खोजी तथा पक्राउका लागि अनुसन्धान जारी रहेको फेयरफिल्ड प्रहरी विभागले जनाएको छ।
फरार संदिग्ध सशस्त्र र खतरनाक हुन सक्ने प्रहरीको चेतावनी
प्रहरीले रिचर्ड गुजमान–गुजमानलाई सशस्त्र तथा खतरनाक व्यक्तिका रूपमा लिनुपर्ने भन्दै सर्वसाधारणलाई उनी नजिक नजान चेतावनी दिएको छ। उनको अवस्थिति वा बसोबासबारे जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।
दुवै संदिग्ध वा घटनासम्बन्धी कुनै जानकारी भएका व्यक्तिलाई फेयरफिल्ड प्रहरी विभाग वा नजिकको स्थानीय प्रहरी निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
- फेयरफिल्ड प्रहरी प्रमुख स्टेफन बी. मेनार्डले अनुसन्धानमा सहयोग पुर्याउने संघीय सुरक्षा निकायहरूको योगदानप्रति आभार व्यक्त गरेका छन्। उनले संघीय अनुसन्धान ब्युरो (FBI), होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (HSI), ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म्स एन्ड एक्सप्लोसिभ्स (ATF) तथा युएस मार्शल्स सर्भिसको सहयोगलाई महत्त्वपूर्ण बताएका छन्।
प्रहरी प्रमुख मेनार्डका अनुसार यस स्तरको अनुसन्धानका लागि ठूलो स्रोतसाधन र विभिन्न निकायबीच समन्वय आवश्यक पर्ने भएकाले संघीय सुरक्षा निकायहरूसँगको सहकार्यले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रयासलाई थप प्रभावकारी बनाएको छ।