शुक्रबार, मंसिर ५, २०८३ | November 20, 2026

बहराइनबाट फर्किएपछि गोलभेँडा खेतीमा रमाउँदै भण्डारी

बहराइनबाट फर्किएपछि गोलभेँडा खेतीमा रमाउँदै भण्डारी

  • Naveen Sanchar

  • शुक्रबार, मंसिर ५, २०८३

  • 37
    Views
बहराइनबाट फर्किएपछि गोलभेँडा खेतीमा रमाउँदै भण्डारी

म्याग्दी, मङ्सिर ४ गते । एक दशकभन्दा बढी समय बहराइनमा पसिना बगाउनुभएका बेनी नगरपालिका–५, डडुवाका मोहन भण्डारी अहिले गाउँमै कृषि कर्ममा रमाउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँले व्यावसायिक गोलभेडा खेती सुरु गर्नुभएको हो ।

भण्डारीको गोलभेडा खेती रहरलाग्दो छ । प्लास्टिक टनेलभित्र लटरम्म गोलभेडा फलेका छन् । गोलभेडा टिपेर बजार पुर्‍याउन भण्डारीलाई भ्याइनभ्याइ छ । उहाँले वर्षमा करिब १० लाख रुपियाँभन्दा बढीका गोलभेडा बिक्री गर्दै आउनुभएको छ ।

रोजगारीका लागि विदेशमा भौँतारिनुभन्दा आफ्नै गाउँमा कृषि कर्म गरेर राम्रो आम्दानी गर्न सकिने अनुभव भण्डारीसँग छ । विगत सात वर्षदेखि उहाँले पाँच रोपनी क्षेत्रफलमा नौ वटा प्लास्टिक टनेल घर निर्माण गरी व्यावसायिक रूपमा गोलभेडा खेती गर्दै आउनुभएको छ ।

गोलभेडा खेतीमा उहाँको परिवार नै संलग्न छ । लालकुमारी भण्डारीले श्रीमान्लाई सघाउनुहुन्छ । विदेश जानुभन्दा परिवारसँगै कृषि पेसामा परिश्रम गर्दा आफूलाई आत्मसन्तुष्टि मिलेको लालकुमारीले बताउनुभयो ।

अहिले उहाँका टनेलभित्र गोलभेडाका बोटमा लटरम्म फल लागेका छन् । हरिया पातबीच झुप्पाझुप्पा फलेका पाक्न लागेका रातो गोलभेडाले टनेल आकर्षक देखिएका छन् । मेहनत र लगनशीलताले गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण भण्डारीले प्रस्तुत गर्नुभएको छ ।

 

वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसा अँगाल्नुभएका भण्डारीका लागि गोलभेडा खेती आम्दानीको माध्यम मात्र होइन, आफ्नै माटोमा भविष्य खोज्ने अवसरसमेत बनेको छ । तत्कालीन कृषि ज्ञान केन्द्रमार्फत तीन वटा प्लास्टिक टनेल निर्माणका लागि अनुदान पाएपछि उहाँले गोलभेडा खेती सुरु गर्नुभएको थियो ।

प्रतिटनेल निर्माणमा ८० देखि ९० हजार रुपियाँसम्म लगानी गरेर उहाँले छ वटा पक्की टनेल घर निर्माण गर्नुभएको छ । आधुनिक तथा व्यवस्थित टनेल निर्माण गर्दै गोलभेडा खेती विस्तार गरेको भण्डारी बताउनुहुन्छ । कृषि विकास कार्यालय म्याग्दीले टनेल निर्माणमा सहयोग गरे आगामी दिनमा गोलभेडा खेती विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

चैतरवैशाखमा बिरुवा लगाएपछि करिब फागुनसम्म नै उत्पादन दिने उहाँले बताउनुभयो । सिर्जना र पूर्ण जातका गोलभेडा खेती गर्नुभएका भण्डारीले एउटा बोटबाट करिब १० केजीभन्दा बढी उत्पादन हुने अनुभव सुनाउनुभयो ।

 

उहाँले भन्नुभयो, “गत चैत महिनामा रोपेका बिरुवाले अहिलेसम्म उत्पादन दिएको छ । नौ वटा टनेलबाट अहिलेसम्म १० हजार केजी गोलभेडा उत्पादन भइसकेको छ । अहिलेको बोटले अझै तीन महिनासम्म उत्पादन दिन्छ । गत वर्षभन्दा यसपालि गोलभेडाको मूल्य केही कमी भएको छ । दसैँपछि ५० देखि ६० रुपियाँ प्रतिकेजी बिक्री भइरहेको छ ।”

उत्पादन भएको गोलभेडा गाडीमार्फत बेनी बजारमा बिक्रीका लागि पठाउने गरेको भण्डारीले बताउनुभयो । गोलभेडासँगै मौसमअनुसार टनेल तथा खुला जमिनमा भेडेखुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाजर, खुर्सानी, काउली, बन्दा र भन्टालगायतका तरकारी खेतीसमेत गर्दै आउनुभएको छ ।

 

स्थानीय तह र कृषि विकास कार्यालयले रोगकिरा नियन्त्रणसम्बन्धी तालिमको व्यवस्था, कृषि औजार, प्रविधि र उत्पादनको मूल्य निर्धारण गरिदिनुपर्ने उहाँ बताउनुहुन्छ । डडुवादेखि पुलाचौर हुँदै बेनी जोड्ने कच्ची सडकमा तरकारी ढुवानी गर्न समस्या हुने, थप प्राविधिक सहयोगको आवश्यकता पर्ने, कृषि मजदुरको अभाव हुने र उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको उहाँले बताउनुभयो ।

गोलभेडाका साथै भण्डारीले बाख्रापालन र मौरीपालन व्यवसाय पनि गर्नुभएको छ । खाडी मुलुकमा गएर पसिना बगाउनुभन्दा आफ्नै माटोमा श्रम गर्दा आम्दानीका साथै आत्मसम्मान पनि मिल्ने भएकाले व्यावसायिक कृषि कर्म गर्न युवालाई उहाँको सुझाव छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha