सोमवार, कार्तिक २४, २०८३ | November 9, 2026

पलाएको आशा

पलाएको आशा

  • Naveen Sanchar

  • आइतवार, कार्तिक २३, २०८३

  • 11
    Views
पलाएको आशा

कवयित्री : तारा कडेल (बन्दी)

म हिँडेको बाटो,
मैले हेर्ने दृष्टिकोण,
मन–मस्तिष्कभरी उब्जिएका
अनेकौँ थरीका सोच र विचार,
जीवन भोगाइका तीता–मीठा क्षणहरू,
अनि अभावका बीचबाटै
नजिकैबाट जीवन चिन्ने
ती सुनौला अवसरहरू।

मेरा आँखैअगाडि
कहीँ कथा–कहानी बनेर,
कहीँ लामो जीवनीको रूप बदलेर,
एउटा नयाँ बिहानी उदाइरहेछ।

जहाँबाट जीवनको दर्पण नियाल्न
एउटा सानो प्वाल खुलेको छ,
त्यहीँभित्र बिम्बात्मक रूपमा पलाएको आशाले
मलाई भविष्यका तेजिला किरणहरू
देखाइरहेछ।

जीवनका सप्तरङ्गी किरणहरू
आ–आफ्ना रूप, गन्ध र स्पर्शद्वारा
मलाई आफ्नो परिचय दिइरहे,
तर एउटा किरण—
जुन सबैभन्दा प्रकाशिलो छ,
उसैले पछाडिबाट भनिरहेको छ—

“म तिमीभित्रै समाहित छु,
किन बाहिर भौँतारिन्छौ मित्र?
मात्र मेरो अनुभव र स्वरूपको पहिचान गरे
मन्दिरको दर्शन आफैँभित्र मिल्छ।

आफूसँग स्वसंवाद गर,
तिम्रो दिव्य ज्ञानको चक्षु
त्यहीँबाट खुल्छ।

गौमाताको स्वभाव,
दुर्गा माताजीको शक्ति,
शिवजीको मुण्डमालाको गोप्यता
एवं अन्य धेरै दिव्य ज्ञानका चक्षु
म नै हुँ।

प्रेमिल मनले सोध,
म तिमीभित्रै छु।”

त्यही आवाजले
मेरो मस्तिष्कको ढोका उघारिदिएको दिन,
आज लक्ष्मीजीको प्रसादको
प्राकट्य उत्सवको दिन।

मेरो सयौँ युगदेखि हराएको आशा
आज फेरि पलाएको छ,
अन्तर्मनमा नयाँ उज्यालो छाएको छ।

यो दिव्य दिनका लागि
सृष्टिकर्ताप्रति कृतज्ञता रहोस्,
अनन्त धन्यवाद!


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha