बुधबार, कार्तिक १९, २०८३ | November 4, 2026

एनआरएनए यूके अध्यक्षद्वारा बाढीपीडित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई आर्थिक सहयोग हस्तान्तरण

एनआरएनए यूके अध्यक्षद्वारा बाढीपीडित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई आर्थिक सहयोग हस्तान्तरण

  • Naveen Sanchar

  • बुधबार, कार्तिक १९, २०८३

  • 21
    Views
एनआरएनए यूके अध्यक्षद्वारा बाढीपीडित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई आर्थिक सहयोग हस्तान्तरण
नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई राहत तथा पुनर्स्थापनाका लागि स्कटल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को बबरमहलस्थित केन्द्रीय कार्यालयमा स्वयं उपस्थित भई उक्त सहयोग रकम खेलाडी रिमाललाई हस्तान्तरण गरेका हुन्।
प्रवासी नेपालीहरूबीच सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र मातृभूमिप्रतिको भावनालाई आत्मसात् गर्दै संकलन गरिएको उक्त सहयोग विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले जुटाइएको हो। स्कटल्यान्डमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तिहरूको पहलमा यो मानवीय अभियान सञ्चालन गरिएको थियो।
उक्त सहयोग अभियानमा एनआरएनए यूकेका सल्लाहकारद्वय मोती खरेल र शशी कार्की, महासचिव दिवाकर पाण्डे, उपाध्यक्ष उज्ज्वल कार्कीलगायत नारायण पहारी, भोला खनाल, एस. केसी, जी. भण्डारी, एम.बी. भण्डारी र प्रकाश कार्कीको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी, स्कटल्यान्डको हाईल्यान्ड क्षेत्रमा बसोबास गर्दै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुरथ लामाले समेत बाढीबाट प्रभावित भई परिवारका सदस्यहरू गुमाएका राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमालको सहयोगार्थ सञ्चालन गरिएको यस मानवीय अभियानप्रति ऐक्यबद्धता जनाएका छन्।
यस अभियानलाई संस्थागत तथा सामुदायिक रूपमा थप प्रभावकारी बनाउन एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले निरन्तर समन्वय, सहयोग र सहजीकरण गर्दै आएका थिए। स्कटल्यान्डका नेपाली समुदायबाट संकलित सहयोग सम्बन्धित खेलाडीलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गर्न अध्यक्ष पुडासैनी स्वयं उपस्थित भएका हुन्।
प्रवासी नेपालीहरूले विदेशमा रहेर पनि मातृभूमिमा आइपर्ने प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा सहयोग गर्दै आउनु सकारात्मक र प्रशंसनीय पक्ष हो। विशेषगरी भौगोलिक दूरीका बाबजुद स्कटल्यान्डमा रहेका नेपालीहरूको सामूहिक पहलले प्रवास र मातृभूमिबीचको भावनात्मक सम्बन्ध, आपसी सद्भाव र मानवीय एकतालाई थप बलियो बनाएको छ।
बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका समयमा सरकारी निकाय तथा सम्बन्धित संघसंस्थाको प्रयाससँगै प्रवासी नेपाली समुदायको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ। सहयोगको मात्रा सानो वा ठूलोभन्दा पनि विपत्तिमा परेका नागरिकप्रतिको मानवीय संवेदना, सहानुभूति र एकताको भावना महत्वपूर्ण हुन्छ भन्ने सन्देश यस अभियानले दिएको छ।
मानवीय सेवामा भौगोलिक दूरी बाधक हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै स्कटल्यान्डका नेपाली समुदायले देखाएको यो एकता, सहयोग र मातृभूमिप्रतिको आत्मीयता प्रशंसनीय छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha