काठमाडौँ, कात्तिक १९ गते । उज्यालोको पर्वका रूपमा चिनिने नेपालीको दोस्रो महान् पर्व तिहार अर्थात् दीपावली सुरु हुँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म मनाइने यो पर्वले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ तथा असत्यबाट सत्यतर्फ जान प्रेरित गर्ने गुरु लेखनाथ शास्त्रीले बताउनुभयो ।
दीपावली बाहिरी उत्सव मात्र नभएर आन्तरिक चेतनाको दियो बाल्ने अवसर भएको शास्त्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दीपावलीको मुख्य सन्देश निम्न अनुसार बुझ्न सकिन्छः
आन्तरिक ज्योतिको स्मरण : औंसीको अँध्यारो रातमा बाहिर धेरै दियो बाल्ने गरिन्छ । यसले हामीलाई आफ्नो चेतनाको दियो बाल्नुपर्ने स्मरण गराउँछ ।
ऊर्जाको अन्तर्मुखी यात्राः सामान्यतया हाम्रो सम्पूर्ण ऊर्जा बाहिरी संसारतर्फ प्रवाहित भइरहेको हुन्छ । दीपावली त्यो ऊर्जालाई धन, सम्पत्ति, प्रतिष्ठा आदिको दौडबाट भित्रतिर फर्काउने अर्थात् अन्तर्मुखी यात्रा सुरु गर्ने माध्यम हो ।
अन्धकारबाट प्रकाशतर्फ : दीपावलीले हामीलाई अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ र असत्यबाट सत्यतर्फ जान प्रेरित गर्छ ।
जीवनलाई उत्सव बनाउनुः दीपावली वर्षमा एक दिन मात्र मनाउने पर्व होइन । मानिसभित्र जागरणको दियो बलेछि जीवनको प्रत्येक दिन दीपावली जस्तै उत्सवमय बन्छ ।
काग तिहारबाट सुरु हुने यो पाँचदिने पर्वमा कुकुर, गाई, गोरु र धनकी देवी महालक्ष्मीको पूजाआजा गर्दै अन्तिम दिन दिदीबहिनीबाट दाजुभाइलाई भाइटीका लगाइ समापन गरिन्छ ।
तिहारका मुख्य परम्परा
यम पञ्चक : यमपञ्चकका पाँच दिनसम्म काग, कुकुर, गाई र गोरुको निष्ठापूर्वक पूजा गरिन्छ ।
लक्ष्मी पूजा र दीपावलीः लक्ष्मीपूजाका दिन धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । बेलुकी दियो, मैनबत्ती र झिलिमिली बत्ती बाल्ने गरिन्छ ।
देउसी भैलो :
साँझको समयमा खेलिने सामूहिक देउसी र भैलोले वातावरण रमाइलो बनाउँछ ।
रङ्गोली :
घरको मूलद्वार र आँगनमा रङ्गोली बनाएर सजाउने चलन पनि छ ।
मिष्ठान्न भोजन :
तिहारमा सेलरोटी, अनरसा, फिनी लगायत विभिन्न मिठा परिकार बनाएर आफन्त, साथीभाइ, छरछिमेकलाई पनि खुवाउने चलन छ ।