सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

डीआरको कथासङ्ग्रह ‘खोक्पा’ सार्वजनिक

डीआरको कथासङ्ग्रह ‘खोक्पा’ सार्वजनिक

  • Naveen Sanchar

  • आइतवार, पुस १५, २०८०

  • 265
    Views
डीआरको कथासङ्ग्रह ‘खोक्पा’ सार्वजनिक

काठमाडौँ, १५ पुस

गीतकार तथा आख्यानकार डीआर (दिनेशकुमार राई) को कथासंग्रह ‘खोक्पा’ आज एक विशेष समारोहबिच लोकार्पण भएको छ । उक्त पुस्तकको काठमाडौँको अनामनगरमा रहेको किम्ची रेष्टुरेन्टमा भव्य कार्यक्रमबिच लोकार्पण गरिएको हो । पेज टर्नर प्रा.लि.का अध्यक्ष भुवनहरि सिग्देल, प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरेले तथा लेखक स्वयम्ले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए । एघारवटा कथा संग्रहित ‘खोक्पा’ कथासंग्रह पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो भने यसको बजार मूल्य रु. ४०० रहेको छ । गीति लेखनबाट साहित्यमा आएका राईले यस अगाडि तिलस्मीजस्तो चर्चित उपन्यास लेखर आख्यानमा आफ्नो बलियो सम्भावना देखाइसकेका छन् । उनले ‘खोक्पा’ मा माथि तटस्थ रूपमा समालोचना गरिदिन समीक्षकसँग आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै समालोचक निमग्ना घिमिरेले यस कथा संग्रहले प्रकृति र मानव जीवन बिचको तादम्यतालाई देखाएको बताईन् । यस भित्रका कथामा गाउँलाई हरियाली पार्न युवा स्वदेश फर्कनुपर्ने सन्देश रहेको उनको भनाइ छ । त्यसैगरी सञ्चारकर्मी हेम भण्डारीले ‘खोक्पा’ कथासंग्रह प्रकृति, पहिचान र प्रतिरोधको त्रिवेणी भएको बताए । उनले भने, यी कथाहरूले संकटग्रस्त पर्यावरणलाई संरक्षण गर्नुपर्ने आवाज उठाएका छन् । बुढ्यौली जीवन, वैदेशिक रोजगारी, लाहुरे संस्कृति, जनजातीय पहिचानजस्ता विविध विषय उठाएर समस्याको समाधान गर्ने प्रयत्न गर्नु कथाकारको शक्ति रहेको उनको भनाइ छ । उनले यी कथाहरूमा अप्राकृतिक विषयको हार भएको बताएका छन् । यस संग्रहका कथाहरूमा जनजातीय पहिचानका सौन्दर्यपूर्ण शब्दहरू प्रयोग भएको भण्डारी बताउँछन् । कार्यक्रमका वक्ता महेश पौड्यालले समकालीन नेपाली कथा लेखनशैली र यसले समातेको पथका विषयमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए । उनले समाकालीन कथाकारले पाठकीय चेतना र लक्षित वर्गको अपेक्षा बुझ्न नसकेको आरोप लगाए । समकालीन कथाकारले आर्किटाइप मोडलका कथालाई फेर्नुपर्ने उनको धारणा थियो । उनी आञ्चलिकताको वासना भएको ‘खोक्पा’ कथासंग्रह डी.आर. राईको इमान जाँच्ने कसी रहेको बताउँछन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले समीक्षले कतै पाठकलाई भ्रम त पारेको छैन भन्ने शङ्का व्यक्त गरेका थिए । उनले भने, “राष्ट्रवादको मूल आयाम भूगोल नभएर मान्छे हो र त्यही मान्छे नै कथा हो ।” कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देलले समाज र मनको संयोजन नै कथा भएको धारणा व्यक्त गरे । उनले स्रष्टाहरू अवैतनिक राष्ट्रवादी भएको बताए । कार्यक्रममा प्रा.डा गोविन्दमान सिंह कार्की, नन्दु उप्रेती, राधा कार्की, श्रीओम श्रेष्ठ ‘रोदन’, मन्दिरा मधुश्री, राजबाबु श्रेष्ठ ‘सागर’, अच्युत धिमिरे, राज रजक, हेम प्रभास, सरोज कोइराला, प्रज्वल अधिकारी लगायतका लेखक साहित्यकारहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन लेखक महेश कार्की क्षितिजले गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha