आइतवार, कार्तिक २३, २०८३ | November 8, 2026

अमेरिकाको क्लिभल्यान्डमा आज भव्य दसैँ–तिहार महोत्सव, नेपाली कला र संस्कृतिको विशेष उत्सव हुँदै

अमेरिकाको क्लिभल्यान्डमा आज भव्य दसैँ–तिहार महोत्सव, नेपाली कला र संस्कृतिको विशेष उत्सव हुँदै

  • Naveen Sanchar

  • शनिबार, कार्तिक २२, २०८३

  • 137
    Views
अमेरिकाको क्लिभल्यान्डमा आज भव्य दसैँ–तिहार महोत्सव, नेपाली कला र संस्कृतिको विशेष उत्सव हुँदै

बीसीजीसीको आयोजनामा सांस्कृतिक कार्यक्रम तथा कोष सङ्कलन, विभिन्न जातीय समुदायका नृत्य, देउसी–भैलो र डिजे प्रस्तुति मुख्य आकर्षण

सहयात्री ढकाल, अमेरिका

अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्डमा आज शनिबार (नोभेम्बर ७) भव्य दसैँ–तिहार सांस्कृतिक महोत्सव आयोजना हुँदैछ। भुटानी समुदाय अफ ग्रेटर क्लिभल्यान्ड (बीसीजीसी) को आयोजनामा हुन लागेको महोत्सवमा नेपालीभाषी भुटानी समुदायसहित विभिन्न पृष्ठभूमिका स्थानीय बासिन्दालाई सहभागी हुन आमन्त्रण गरिएको छ।

ब्रुकपार्कस्थित १७२५० हमेल रोडमा आयोजना हुने कार्यक्रम दिउँसो १ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। दिउँसो १ देखि ५ बजेसम्म सांस्कृतिक प्रस्तुति र साँझ ५ देखि ७ बजेसम्म डिजे मनोरञ्जनको कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

महोत्सवमा तामाङ, गुरुङ, मगर, राई, नेवारलगायत विभिन्न जातीय समुदायका मौलिक नृत्य, हास्यव्यङ्ग्य, परम्परागत सङ्गीत, देउसी–भैलो तथा सांस्कृतिक खानाका परिकार प्रस्तुत गरिनेछन्। प्रत्यक्ष सङ्गीतसँगै डिजे सुनिलको प्रस्तुति पनि रहनेछ।

‘एक समुदाय, अनेक संस्कृति, एउटै उत्सव’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवको उद्देश्य प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्नु रहेको बीसीजीसीले जनाएको छ। सहभागीहरूलाई आ–आफ्नो मौलिक सांस्कृतिक पोसाकमा उपस्थित हुनसमेत आग्रह गरिएको छ।

अमेरिकामा ५०१(सी)(३) परोपकारी संस्थाका रूपमा रहेको बीसीजीसीले सांस्कृतिक संरक्षण र सामुदायिक सम्बन्ध विस्तारका लागि कार्यक्रम आयोजना गरेको हो। महोत्सवसँगै संस्थाको सामाजिक तथा सामुदायिक गतिविधिमा सहयोग जुटाउने उद्देश्यले कोष सङ्कलनसमेत गरिनेछ।

कार्यक्रमको प्रमुख प्रायोजक केरेनेस्ट होम हेल्थ सर्भिसेज एलएलसी रहेको छ। आयोजकले प्रायोजक, कलाकार, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।

आयोजकले क्लिभल्यान्ड तथा आसपासका क्षेत्रका नेपालीभाषी र अन्य समुदायका परिवार तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई दसैँ–तिहारको खुसी साट्न आह्वान गरेको छ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha