बुधबार, साउन ६, २०८३ | July 22, 2026

कविरत्न लाइश्रम समरेन्द्रको सतवार्षिकी सम्पन्न

कविरत्न लाइश्रम समरेन्द्रको सतवार्षिकी सम्पन्न

  • Naveen Sanchar

  • मङ्लबार, साउन ५, २०८३

  • 13
    Views
कविरत्न लाइश्रम समरेन्द्रको सतवार्षिकी सम्पन्न

मणिपुर, श्रावण ४

मणिपुरी काव्यसाहित्यका मूर्धण्य स्रष्टा कवि लाइश्रम समरेन्द्रको शतवार्षिकी सम्पन्न भएको छ । गत २० जुलाईका दिन मणिपुरको राजधानी इम्फालमा आयोजित एक विशेष समारोहबीच वर्षभरि नै आयोजित विभिन्न कार्यक्रम शृङ्खलाको समापन गरिएको हो । ठिक एक वर्षअघि त्यसै दिन लाइश्रम समरेन्द्र बर्थ सेन्टिनरी कमिटीले इम्फालस्थिति प्रेस क्लबाटमा कार्यक्रमको उद्घाटन गरेको थियो । समितिका संयोजक साहित्य अकादमी पुरस्कार विजेता सर्जक शरदचान्द थियामको संयोजनमा वर्षभरि नै विविध कार्यक्रम गरी कविको साहित्यिक योगदानको स्मरण गरिएको थियो ।

कार्यक्रम शृङ्खला अन्तर्गत ३० सितम्बर २०२५ का दिन समरेन्द्रको पुस्तक ‘वा अमत्त हाइगे तेलङ्गा’ को अंग्रेज़ी अनुवाद थौनाउजम रतन कुमारको रूपान्तरणमा प्रकाशित प्रकाशन गरियो ।  १५ नबम्बर २०२५ का दिन बंगलादेश मणिपुरी साहित्य संसदद्वारा बंगलादेश मणिपुरी राजबाडीमा भव्य कार्यक्रम सम्पन्न भयो ।  १५ फरवरी २०२६ का दिन साहित्य सेवा समिति ककचिङ, मचाचनु ककचिङ, इरमदम खोरीरोल तथा अपुन्बा लुप हियाङलमको संयुक्त आयोजनामा कविता पाठ सम्पन्नभ भयो । साथै, यस अवसरमा डा. नन्दो निङोम्बमले समरेन्द्रको जीवन र साहित्य विषयक एउटा गहन वक्तव्य राखेका थिए ।

३० जुन २०२६ का दिन पेट्रियोट्रिक राइटर्स फोरम त्रिपुरा तथा आयोजक समितिको संयुक्त आयोजनामा अगरतल्ला प्रेस क्लबमा सय वर्षे जयन्तीको पालन गरिएको थियो ।  यसमा कविकी सुपुत्री शारदा लाइश्रमले कविका विषयमा वक्तव्य राखेकी थिइन्  ।  मणिपुरबाट संयोजक शरदचान्द थियामको वक्तव्य थियो ।  त्रिपुराबाट के.एस.एच. माधवी तथा खेलमोहनका वक्तव्य रहेका थिए ।

समापन समारोह भव्यताका साथ मणिपुर प्रेस क्लब इम्फालमा आयोजन गरिएको थियो ।  मञ्चमा साहित्य अकादमी पुरस्कृत कवि राजकुमार भुवनसना, सल्लाहकार राइटर्स युनियन, मणिपुरका सल्लाहकार एस. एम. शेख, अध्यक्ष कबुई लिटरेचर एण्ड रिसर्च अकाडेमीका अध्यक्ष लानबोन कबुई, नेपाली साहित्य परिषद मणिपुरका सल्लाहकार भवानी अधिकारी,  सेलेब्रेसन कमिटीका अध्यक्ष येङखोम अनिल कुमार, सेलेब्रेसन कमिटीका संयोजक शरदचान्द थियाम आदि थिए ।  यस कार्यक्रममा मणिपुरका विशेष स्थानमा रहेका विभिन्न एघार जना सर्जकद्वारा समरेन्द्रका चयनित कविता पढिए ।  मणिपुरका नेपालीभाषी कवि तथा साहित्यकार भवानी अधिकारीले कवि समरेन्द्रको कविताको नेपाली अनुवाद पाठ गरी सुनाएका थिए । सम्पूर्ण वक्ताले समरेन्द्रका जीवनको विभिन्न कोणले वक्तव्य रााखे ।  शरदचान्द थियामले आउने युग युगसम्म हाम्रा महान् साहित्यकारहरूको प्रेरणा लिँदै जातीय सद्भाव, उन्नति र प्रगतिको मार्गमा लाग्न युवाहरूको सहभागितामा बल दिँदै वक्तव्य राखेका थिए ।  सलाम तोम्बाको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा कविहरूले स्वरचित कविता पाठ गरेका थिए ।

कवि समरेन्द्र आधुनिक मणिपुरी साहित्यका अग्रणी  कवि मानिन्छन् ।  २०जुलाई १९२५ मा इम्फालको याइस्कूलमा लाइश्रम तोमाल तथा लाइश्रम विवाहित थियाम चेली इबेहन्बीका पुत्रका रुपमा उनको जन्म भएको हो ।  कुशल तथा तीव्र बुद्धिवा ला समरेन्द्रले चुडाचान्द हाईस्कूल इम्फालबाट मेट्रिक पास गरे ।  यसपछिको शिक्षा कलकत्तामा लिए ।  कलकत्तामै उनले १९४६ बाट कविता लेख्न सुरु गरे ।  यहीं प्रकाशित सीता कविताले कविको आफ्नो अलग्गै पहचान बनायो ।  समरेन्द्रका कवितामा हास्यरस, व्यङ्ग्यात्मक तथा गहिरा चिन्तन पाइन्छन् ।  उनलाई मणिपुरमा लिभिङ लिजेण्ड भनेर पनि जानिन्थ्यो ।  जामिनी सुन्दर गुहा गोल्ड मेडल, मणिपुर स्टेट कला एकाडेमी एवार्ड, साहित्य अकादमी पुरस्कार, कविरत्न एवार्ड सहित अनेकौं पुरस्कारले पुरस्कृत स्रष्टा हुन्  ।  २ जुन २०१६ मा यस्ता महान् मणिपुरी कविको मृत्यु भयो ।

बर्थ सेन्टिनरीका संयोजक साहित्य अकादमी पुरस्कृत शरदचान्द थियाम मणिपुरी साहित्यको विकास विस्तारमा खटिएका अथक व्यक्तित्वमा पर्ने नाम हो ।  मणिपुर साहित्यलाई मणिपुर बाहिर असम, त्रिपुरा, बंगलादेश, म्यान्मारसम्म प्रचार प्रसारमा ठूलो योगदान छ ।  अन्य भाषी तथा अन्य देशका कविहरू निम्त्याई यहॉं अनेक कार्यक्रम सम्पन्न गर्न सफल व्यक्तिमा शरदचान्दको नाम लिन सकिन्छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha