नबिन सन्चार झापा । सातौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो प्रतिबद्धताअनुसार रु. ४ लाख सहयोग रकम आयोजक समितिलाई हस्तान्तरण गरेको छ।
बिर्तामोडस्थित होटल होलिडे होममा आयोजित विशेष कार्यक्रममा समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाई र उपाध्यक्ष नवीन पोखरेलले संयुक्त रूपमा झापा गोल्डकप आयोजक समितिका अध्यक्ष केदार गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरणसँगै दुवै संस्थाबीच आगामी दिनमा खेलकुद, सामाजिक तथा सामुदायिक गतिविधिमा आपसी सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा सकारात्मक छलफल समेत भएको थियो।
कार्यक्रममा झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र बहादुर पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गोल्डकपका सदस्य मदन खड्का र केशव भट्टराई, साथै अन्तर्राष्ट्रिय झापाली समाजको नेपाल समन्वय समितिका सचिव सुदर्शन रोका तथा सदस्यहरू विजय मगर र बीरु दर्नाल लगायतको उपस्थिति रहेको थियो।
मोफसलकै सर्वाधिक लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक झापा गोल्डकपको सातौं संस्करण २०८२ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म भव्य रूपमा सम्पन्न भएको थियो। प्रतियोगिताको सफल आयोजनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले सहप्रायोजकका रूपमा आर्थिक तथा नैतिक सहयोग प्रदान गर्दै खेलकुद क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।