बुधबार, भदौ ३१, २०८३ | September 16, 2026

  • Naveen Sanchar

  • शनिबार, चैत्र १४, २०८२

  • 128
    Views
       हिजो र आज                           राकेश शर्मा
                                                  विन्निपेग क्यानडा 
उहिले
मन भोको थियो,
शरीर होइन
पूरै अस्तित्व नै चाहनाले भरिएको थियो।
एउटा मिठाईका लागि
आँखा चम्काएर,
ओठ लोप्र्याएर,
बासँग माग्न सक्थेँ।
त्यो बेला
पैसा थिएन,
तर चाहना थियो।
हात खाली थिए,
तर मन भरिएको थियो।
आज
हात भरिएका छन्,
खल्तीमा पैसा छ,
किन्न सक्ने सामर्थ्य छ
तर भोक मरेको छ।
मिठाई पसलमा सजिएको छ,
तर रहर चुपचाप बसेको छ।
आँखा शान्त छन्,
मन निर्जीव छ।
सायद
जीवनले सबै दियो,
तर मबाट मलाई नै खोस्यो।
उहिले म आश गर्थेँ,
आज म हिसाब गर्छु।
उहिले
रोएर मिठाई जित्थेँ,
आज
मौन भएर जीवन हार्छु।
कस्तो विडम्बना
जब किन्न सक्ने भएँ,
त्यो चाहना नै सकियो।
अब
म आफैँलाई सोध्छु
के म धनी भएँ?
कि भोकै नै मरेँ?
किनकि
मानिस पैसा नहुँदा गरीब हुँदैन,
भोक नहुँदा गरीब हुन्छ।
सायद
मिठाईको स्वाद हराएको होइन,
म नै स्वादहीन भएको हुँ।
मबाट म हराएको छ,
भोगको भोक हराएको छ।
आज
म प्रार्थना गर्छु
मलाई पैसा नदेऊ,
मलाई फेरि त्यो मन देऊ।
त्यो आतुरता देऊ,
त्यो आँखा देऊ,
त्यो भोक देऊ,
त्यो रहर देऊ
जसले सानो कुरामा संसार देख्थ्यो।
किनकि
मिठाई किन्नु सजिलो छ,
तर मिठाई माग्ने मन
फेरि जन्माउनु गाह्रो रहेछ।
रहर पलाउनु
असंभव जस्तै रहेछ।
म भित्रको म भेट्न,
सायद
मै मेटिनु पर्ने रहेछ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha