बुधबार, माघ २९, २०८२ | February 11, 2026

साउदीमा नेपाली कामदारको अवस्था संघर्षपूर्ण छ :  खगेन्द्र बराल

साउदीमा नेपाली कामदारको अवस्था संघर्षपूर्ण छ :  खगेन्द्र बराल

  • Naveen Sanchar

  • बुधबार, माघ २२, २०८२

  • 244
    Views
साउदीमा नेपाली कामदारको अवस्था संघर्षपूर्ण छ :  खगेन्द्र बराल

नवीनसञ्चार मित्र खगेन्द्र बरालसँग आत्मीय कुराकानी

नेपालको ताप्लेजुङ जिल्लाको थेचम्बु, बराल गाउँमा जन्मिनुभई हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहनुभएका  खगेन्द्र बराल नवीनसञ्चार अनलाइनलाई नियमित रुपमा माया, ममता, सहयोग प्रदान गर्ने अत्यन्त आत्मीय पाठक मित्र हुनुहुन्छ । नवीनसञ्चार मित्र बरालले प्रवासी नेपालीमाझ एउटा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । प्रस्तुत छ, साउदी अरबको बसाईका क्रममा उहाँकोे अनुभव लगायतका विषयमा नवीनसञ्चारल गरेको आत्मीय सम्वाद :

 

० तपाईं कहाँ जन्मिनुभयो ? यहाँको नेपालको घर कहाँ होला ?
– म नेपालको ताप्लेजुङ जिल्लाको थेचम्बु, बराल गाउँमा जन्मिएको हुँ। त्यहीँ मेरो बाल्यकाल बित्यो र त्यहीँ मेरो जन्मभूमि हो।
० जन्मभूमिको सम्झना कत्तिको आउँछ ?
– जन्मभूमिको सम्झना सधैँ आउँछ। आमा–बुबा, परिवार, गाउँको वातावरण, डाँडाकाँडा, मेलापात सबै कुरा मनमा झल्झली आइरहन्छ। विदेशमा हुँदा आफ्नो माटोको महत्व झनै धेरै महसुस हुन्छ।
० साउदी अरब आउनुभएको कति भयो ?
-म साउदी अरब आएको करिब १० वर्ष हुन लाग्यो।
० साउदी अरबमा बसेर काम गर्दा यहाँको अनुभव कस्तो रह्यो ?
अनुभव मिश्रित रह्यो। मेहनत धेरै गर्नुपर्‍यो, संघर्ष पनि कम छैन । तर यहीँको कामले अनुशासन, धैर्य र जिम्मेवारी सिकायो। दुःखसँगै जीवन बुझ्ने अवसर पनि यहीँ पाइयो।
० साउदीमा यहाँले पाउनुभएका र गुमाउनुभएका कुरा के के छन् ?
– पाएको कुरा भनेको अनुभव, आत्मनिर्भरता र परिवारलाई आर्थिक सहयोग गर्न सक्ने क्षमता हो।
गुमाएको कुरा भनेको परिवारसँग बिताउने समय, चाडपर्वको रमाइलो र आफ्नै देशको माया हो।


० साउदीमा कार्यरत नेपालीको अवस्था कस्तो छ ?
-नेपाली कामदारको अवस्था अझै पनि संघर्षपूर्ण छ। कतिपयले राम्रो गरिरहेका छन्, तर धेरैजसो श्रमिक कम तलब, लामो कामको समय र अधिकारको अभावमा काम गरिरहेका छन्। अझै सुधार आवश्यक छ। नेपाल सरकार को ध्यान जाओस् ।
० साउदी अरब र नेपालबीच केकस्ता भिन्नता पाउनुभयो ?
– साउदीमा नियम–कानुन कडा छ, कामको सिस्टम व्यवस्थित छ। नेपालमा प्राकृतिक स्रोत र सम्भावना धेरै भए पनि व्यवस्थापन र कार्यान्वयन कमजोर देखिन्छ। विकासको गति यहीँ छिटो छ, भावनात्मक अपनत्व भने नेपालमै छ।


० नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, साउदीस्थित नेपाली दूतावासलाई केही सुझाव दिन चाहनुहुन्छ ?
–  श्रमिकको हक–अधिकारमा गम्भीर हुनुपर्छ। दूतावास थप सक्रिय बन्नुपर्छ। ठगी नियन्त्रण, श्रमिक समस्यामा छिटो सहजीकरण र स्वदेश फर्किएपछि सीपअनुसारको अवसर दिन सकियो भने धेरै राम्रो हुन्छ।
० सम्भावना भएर पनि नेपालको विकास हुन नसक्नुको प्रमुख कारण के होला ?
– मुख्य कारण भ्रष्टाचार, अस्थिर राजनीति, कमजोर नेतृत्व र कार्यान्वयनको कमी हो। देशभन्दा पार्टी र स्वार्थ ठूलो बनाउँदा विकास रोकिएको छ।

० जीवन के हो जस्तो लाग्छ ?
-जीवन भनेको संघर्ष, सिकाइ र जिम्मेवारीको यात्रा हो। सुख–दुःख दुवै स्वीकार गर्दै अघि बढ्नु नै जीवन हो।
० नेपाली दाजुभाइ दिदीबहिनीलाई केही सन्देश दिन चाहनुहुन्छ ?
– विदेशमा भए पनि अनुशासनमा बसौँ, मेहनत गरौँ र एक–अर्कालाई सहयोग गरौँ। देशलाई गाली मात्र होइन, जहाँ छौँ त्यहाँबाट सकारात्मक काम गरौँ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
– विदेशी जीवन सजिलो छैन, तर लक्ष्य स्पष्ट भए संघर्षले नै सफलता ल्याउँछ। सबै नेपाली दाजुभाइ दिदीबहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु। नेपाली दाजुभाइदिदीबहिनी, आफन्त, इष्टमित्र सबैलाई मीठो सम्झना र प्रेम छ । नेपालको अग्रणी न्युज पोर्टल नवीनसञ्चार साउदी अरब तथा स्वदेश र विदेशमा रहनुभएका नेपालीको ढुकढुकी बन्न सफल होस् । यस अनलाइनलाई जीवनभर माया र सहयोग गर्नेछु । मेरो अन्तर्वार्ता प्रकाशित गरिदनुभएको धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha