नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा आयोजित ‘विश्वविद्यालय अनुदान आयोग र नेपालको उच्च शिक्षा’ विषयक राष्ट्रिय शिक्षा कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।
कार्यशालामा नेपालको उच्च शिक्षा, विश्वविद्यालय अनुदान आयोगको र विश्वविद्यालयको भूमिका लगायतका विषयमा बहस, कार्यपत्र प्रस्तुति, छलफल तथा प्यानल डिस्कशन गरिएको थियो ।
उक्त कार्यशालामा विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष भीम प्रसाद सुवेदी, विश्वविद्यालय अनुदान आयोगका सचिव डा रोजी श्रेष्ठ, विश्वविद्यालय अनुदान आयोग भारतका पूर्व सचिव प्राडा मनिष जोशी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह प्राध्यापक राजन सुवाल, शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा सुनिल कुमार जोशी, पूर्व उपकुलपति प्राडा तीर्थ खनिया, प्राडा उपेन्द्र कोइराला, प्राडा अम्माराज जोशी, प्राडा प्रेमनारायण अर्याल, प्राडा विजुकुमार थपलिया लगायतका प्राज्ञिक व्यक्तिको उपस्थिति रहेको थियो । साथै विभिन्न विश्वविद्यालयका रजिष्ट्रार, डिन, विभागीय प्रमुख, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, शिक्षाविद् एवं प्राध्यापकको सहभागिता रहेको थियो ।
कार्यशालामा प्राडा विजु कुमार थपलियाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्राडा पुष्करमान बज्राचार्य र प्राडा वेदराज आचार्यले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । त्यसैगरी विभिन्न विश्वविद्यालयका रजिस्ट्रार, डिन, विभागीय प्रमुख, क्याम्पस प्रमुख, शिक्षाविद् तथा प्राध्यापकको समेत उच्च शिक्षाको वर्तमान अवस्था, विश्वविद्यालय अनुदान आयोगको भूमिका र विश्वविद्यालयको शैक्षिक उत्तरदायित्व लगायत विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।