बुधबार, माघ २९, २०८२ | February 11, 2026

साउदी अरबमा नेपालले दक्ष जनशक्ति पठाउनुपर्छ : बुद्धि प्रसाद बाँस्तोला

साउदी अरबमा नेपालले दक्ष जनशक्ति पठाउनुपर्छ : बुद्धि प्रसाद बाँस्तोला

  • Naveen Sanchar

  • बुधबार, माघ २२, २०८२

  • 311
    Views
साउदी अरबमा नेपालले दक्ष जनशक्ति पठाउनुपर्छ :  बुद्धि प्रसाद बाँस्तोला

नवीनसञ्चार मित्र बुद्धि प्रसाद बाँस्तोलासँग आत्मीय कुराकानी

नेपालको कास्की जिल्लास्थित पोखरा महानगरपालिका वडा नं. २२, पुम्दीभुम्दी घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको ताबुकमा रहनुभएका बुद्धिप्रसाद बाँस्तोला नवीनसञ्चार अनलाइनलाई नियमित रुपमा माया, ममता, सहयोग प्रदान गर्ने अत्यन्त आत्मीय पाठक मित्र हुनुहुन्छ । गैह्रआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय समिति, ताबुकका अध्यक्ष समेत रहनुभएका नवीनसञ्चार मित्र बाँस्तोलाले प्रवासी नेपालीमाझ एउटा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । प्रस्तुत छ, साउदी अरबको बसाईका क्रममा उहाँकोे अनुभव लगायतका विषयमा नवीनसञ्चारल गरेको आत्मीय सम्वाद  :

१) हजुर कहाँ जन्मिनुभएको हो ? यहाँको नेपालको घर कहाँ पर्छ ?
– म कास्की जिल्लाको पोखरा महानगरपालिका–२२, पुम्दी–भुम्दीमा जन्मिएको हुँ। यही मेरो जन्मस्थान र स्थायी घर हो।

२) जन्मभूमिको सम्झना कत्तिको आउँछ ?
– जन्मभूमिको सम्झना धेरै आउँछ। घर–परिवार, गाउँ, प्राकृतिक वातावरण र बाल्यकालका सुन्दर यादहरूले मन सधैँ तानिरहन्छ।

३) साउदी अरब आउनुभएको कति समय भयो ?
– म साउदी अरबमा आएको १५ वर्ष भइसकेको छ।

४) साउदीमा बसेर काम गर्दा यहाँको अनुभव कस्तो रह्यो ?
– साउदी अरबमा बिताएको समय मेरो जीवनको अत्यन्तै मूल्यवान, महत्वपूर्ण र परिवर्तनकारी अनुभव बनेको छ।
सामान्य कर्मचारीबाट सुरु भएको मेरो पेशागत यात्रा आज व्यवस्थापन तहसम्म आइपुगेको छ । जसको श्रेय मेरो मेहनत, अनुशासन, निरन्तर सिकाइ र साउदीले दिएको असंख्य अवसरहरूलाई जान्छ।साउदीका ठूला तथा जटिल निर्माण (Construction) परियोजनाहरूमा काम गर्दै मैले FC Drawing, Shop Drawing, Material Submittal, Method Statement व्यवस्थापन, RFI (Request for Information) तथा IR (Inspection Request) प्रणालीगत व्यवस्थापन, QA/QC तथा HSE विभागसँग समन्वय गर्दै नियमन तथा कार्यविधि सुनिश्चित गर्ने कार्य, साप्ताहिक/मासिक प्रगति प्रतिवेदन (Progress Reports) तयार गर्ने जिम्मेवारी, Aconex, SAP, NEOM Platform तथा अन्तर्राष्ट्रिय डकुमेन्ट–कन्ट्रोल सिस्टमहरूको दक्ष प्रयोग, सिभिल, MEP, स्ट्रक्चरल, आर्किटेक्चरल तथा इन्फ्रास्ट्रक्चर कार्यसँग सम्बन्धित सबै अभिलेख व्यवस्थापन, अडिट (Audit), कम्प्लायन्स (Compliance) र Client Requirement अनुसार फाइलिङ प्रणाली विकास र मापदण्ड सुनिश्चितता, Mega Construction Project हरूमा अन्तर्राष्ट्रिय स्तरको अभिलेख व्यवस्थापन प्रणाली लागू गर्ने अनुभव जस्ता क्षेत्रमा अत्यन्तै गहिरो ज्ञान, सीप तथा अनुभव हासिल गरें। यी सबै अनुभवहरूले मलाई— निर्माण परियोजनाको समग्र संचालन, समय व्यवस्थापन, गुणस्तर व्यवस्थापन (Quality Control), जोखिम व्यवस्थापन, र ठूला परियोजनामा आवश्यक पर्ने व्यावसायिक समन्वय बारे अत्यन्तै गहन बुझाइ प्राप्त गरायो। हाल म Project Document Controller Manager को रूपमा कार्यरत छु, जहाँ मैले— सम्पूर्ण परियोजना अभिलेखको नेतृत्व, इन्जिनियरिङ कागजात व्यवस्थापन, डिजाइन तथा प्रोक्योरमेन्ट गतिविधिको समन्वय, परियोजना रिपोर्टिङ र क्लाइन्ट कम्युनिकेशन जस्ता महत्वपूर्ण जिम्मेवारीहरू वहन गर्दै आएको छु।

५) साउदीमा यहाँले पाउनु भएका र गुमाउनु भएका कुरा के–के छन् ?
– पाएको :

परिवारको जीवनस्तर सुधार गर्न सक्ने अवसर

व्यावसायिक ज्ञान, सीप, अनुशासन र अनुभव

अन्तर्राष्ट्रिय स्तरको काम गर्ने क्षमता

गुमाएको :

परिवारसँग बिताउनुपर्ने अमूल्य समय

आफन्त र जन्मभूमिबाट टाढा रहनुको पीडा

६) साउदीमा कार्यरत नेपाली दाजुभाइ, दिदीबहिनीको अवस्था कस्तो छ ?
– यहाँ धेरै नेपालीहरू सामान्य श्रमिकको रूपमा कार्यरत हुनुहुन्छ ।
नेपालले दक्ष तथा सीपयुक्त जनशक्ति पठाउने हो भने उनीहरूले अझ राम्रो अवसर पाउनेछन्।
नयाँ आउने धेरै श्रमिकहरूले साउदीका नियम–कानून राम्रोसँग नबुझेका कारण सहजै समस्यामा पर्ने देखिन्छ।

७) साउदी अरब र नेपालबीच कस्तो भिन्नता अनुभव गर्नुभयो ?
– साउदी सुरक्षित, अनुशासित, व्यवस्थित र रोजगारका अवसरले भरिपूर्ण देश हो।
यस देशले मलाई जीवनभर उपयोगी रहने ज्ञान, अनुशासन र व्यावसायिक उन्नति दियो।
नेपाल सुन्दर देश भए पनि सामान्य नागरिकका लागि नियम–कानूनको प्रभावकारी कार्यान्वयन नहुनु नै ठूलो चुनौती हो । यही सबैभन्दा ठूला भिन्नताहरू हुन्।

८) नेपाल सरकार तथा वैदेशिक रोजगारसँग सम्बन्धित निकायलाई यहाँको केही सुझाव छ ?
– नेपालले दक्ष, सीपयुक्त र तालिमप्राप्त जनशक्ति पठाउने नीतिमा प्राथमिकता दिनुपर्छ।साउदी सरकारसँग नियमित औपचारिक बैठक, छलफल र सहकार्य बढाउनुपर्छ। श्रमिकलाई विदेश पठाउनु अघि नियम–कानून, भाषा, सुरक्षा र व्यवहारगत तालिम अनिवार्य गर्नुपर्छ।

९) सम्भावना हुँदाहुँदै पनि नेपालको विकासमा ढिलाई हुनुको प्रमुख कारण के हो ?
– मुख्य कारण समन्वय, सहकार्य, पारदर्शिता र इमानदारीको कमी हो।

१०) यहाँको विचारमा जीवन के हो ?
– जीवन निरन्तर संघर्ष, सिकाइ, र उत्थान हो । यही संघर्षले जीवनलाई अर्थपूर्ण र सफल बनाउँछ।
११) अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
-नेपाली दाजुभाइदिदीबहिनी, आफन्त, इष्टमित्र सबैलाई न्यानो माया र सम्झना छ । नवीनसञ्चार अनलाइन साउदी अरब र मध्यपूर्वका विभिन्न देशका साथै विश्वभरी छरिएर रहेका नेपालीको साझा चौतारी हो । यस अनलाइनको उत्तरोत्तर प्रगतिको कामनाका साथ एक अनन्य मित्रका  रुपमा सदैव प्रेम र सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मेरो धारणा आम नेपालीमाझ सम्प्रेषण गरिदनुभएको हार्दिक धन्यवाद छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha