-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मैत्रीनगरस्थित कश्यप एकेडेमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्दै वसन्त पञ्चमी पर्व मनाइएको छ । सो अवसरमा बालबालिकाहरूलाई अक्षरारम्भ गराई एकेडेमीमा भर्ना समेत गरिएको थियो ।

साहित्य, संगीत, कला र विद्याकी प्रतिमूर्ति सरस्वतीको स्तुति गर्दै अविभावक विद्यार्थीसँगै सहभागी हुनुभएको थियो । अक्षरारम्भसँगै नि:शुल्क रूपमा नयाँ भर्ना गरिएको विद्यालयका प्रिन्सिपल आरबी अधिकारीले बताउनुभयो । एकेडेमीले शैक्षिक गुणस्तर र विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिएकोले अभिभावकवर्गको आकर्षण बढेको प्रिन्सिपल अधिकारीको भनाई छ ।

फलफूल, मिष्ठान्न अर्पण गरी देवी सरस्वतीको प्रार्थना गरिएको थियो । नुहाइ धुवाइ गरी सफा लुगा लगाएर पूजासामग्री हातमा लिई विद्यार्थी अभिभावकसहित बिहानै विद्यालय पुगेका थिए । उनीहरुले सरस्वतीलाई विभिन्न मन्त्र उच्चारण गरी प्रार्थना गरेका थिए ।

वसन्तपञ्चमी मनाउनाले ज्ञान, विद्या, कला, संगीत र कुनैपनि सिर्जनात्मक कार्यमा सफलता मिल्ने कार्यक्रममा सहभागी एक अभिभावकले बताउनुभयो ।




